युरोपा लिग: सेभियाले जित्यो छैटौं पटक उपाधि

स्पेनिस क्लब सेभियाले युरोपा लिगको उपाधि जितेको छ। शुक्रबार राति जर्मनीमा भएको उपाधि भिडन्तमा इटालियन क्लब इन्टर मिलानलाई ३-२ गोलले पराजित गर्दै सेभिया च्याम्पियन बनेको हो। छैटौं पटक युरोपा लिगको च्याम्पियन बनेको सेभिया युरोपा लिग सर्वाधिक जित्ने क्लब हो।

पहिलो हाफ २-२ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा इन्टरका रोमेलु लुकाकुले आत्मघाती गोल गरेपछि सेभिया च्याम्पियन बन्न सफल भयो। ७४ मिनेटमा सेभियाका डिफेन्डर डिएगो कार्लोसको प्रहारलाई रोक्ने क्रममा लुकाकुले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए।



त्यसअघि लुकाकुकै गोलमा इन्टरले पहिले अग्रता लिएको थियो। खेलको पाँचौ मिनेटमा सेभियाका डिफेन्डर कार्लोसले फल गरेपछि पाएको पेनाल्टीमा लुकाकुले गोल गरेका थिए। १२ मिनेटमा सेभियाका लुक डे जोङले जेसस नाभासको क्रसमा बराबरी गोल फर्काए। ३३ मिनेटमा डे जोङले व्यक्तिगत दोस्रो गोल गर्दा सेभियाले २-१ को अग्रता लियो। यसपटक जोङले एभर बेनेगाको क्रसमा गोल गरे।

सेभियाको अग्रता दुई मिनेट पनि टिक्न पाएन। इन्टरका डिएगो गोडिनले ३५ मिनेटमा गोल गर्दा खेल २-२ गोलको बराबरीमा आयो। सेभियाले २००६ यता युरोपा लिगको छैटौं पटक उपाधि जितेको हो। उसले २०१४ देखि २०१६ सम्ममा लगातार तीन पटक उपाधि जितेर इतिहास बनाएको थियो।

सम्बन्धित समाचार