डा. एन्थोनी फाउचीले चेतावनी : ‘कोभिड–१९ को खोपमा हतारो नगरौँ’

अमेरिकाका वरिष्ठ भाइरस विज्ञले कोभिड–१९ को खोपमा हतारो गर्न नहुने चेतावनी दिएका छन् । खोप सुरक्षित तथा प्रभावकारिता प्रमाणित नभएसम्म हतारो गर्न नहुने डा.  एन्थोनी फाउचीले चेतावनी दिएका हुन् ।

त्यस्ता कार्यले खोप विकासको काममा असर गर्ने डा। फाउचीले समाचार संस्था रोयटर्ससँग बताएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खोपको परीक्षण प्रक्रिया पूरा नभई प्रयोग थाल्ने योजनाको तयारीमा रहेको खबर आइरहेका बेला डा। फाउचीले चेतावनी दिएका हुन् ।



खोप चाँडै नै प्रयोगमा ल्याएमा आउँदो नोभेम्बरमा हुने चुनावमा निर्वाचित हुने सम्भावना बलियो हुने विश्लेषणसहित ट्रम्पले हतारो गर्न थालेको दाबी गरिन्छ । डेमोक्र्याटहरुले राजनीतिक स्वार्थका लागि ट्रम्पले अमेरिकीको ज्यान जोखिममा पार्ने तयारी गरेको आरोप लगाएका छन् ।

शनिबार ट्रम्पले ट्वीट मार्फत युएस फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले खोपको परीक्षणका लागि औषधि कम्पनीलाई बाधा पुर्‍याएको आरोप लगाएका थिए ।

अहिले विकासको क्रममा रहेका खोपहरु आकश्मिक रुपमा प्रयोगका लागि स्वीकृति प्रदान गर्ने गरी ट्रम्प प्रशासन लागि परेको दाबीसहितको खबर द फाइनान्सियल टाइम्सले प्रकाशित गरेको छ । खोपको परीक्षणका लागि १० हजार मानिस स्वतन्त्र रुपमा तयार भएका छन् । तर खोपले स्वीकृति पाउनका लागि ३० हजार भन्दा बढी मानिसमा परीक्षण गरिएको हुनु पर्छ ।

कोरोना भाइरसको महामारीका कारण विश्वमा सबैभन्दा बढी प्रभावित देश अमेरिकामा अहिलेसम्म ५७ लाख ४० हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । कोभिड–१९ बाट मृत्यु हुनेको संख्या अमेरिकामा एक लाख ७७ हजार भन्दा बढी रहेको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ ।

समाचार संस्था रोयटर्ससँगको अन्तर्वार्तामा नेशनल इन्स्टिच्यूड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिजेका प्रमुख डा. फाउचीले परीक्षण नभएका खोपको प्रयोगमा हतारो गर्दा अरु परीक्षणहरुलाई प्रभावित पार्न सक्ने चेतावनी दिएका छन् ।

 

सम्बन्धित समाचार