नवकान्तिपुर संवाददाता
काठमाडौं, १० भदौ ।
मकाउमा पोर्न भिडियो सेयर गरेको आरोपमा सोमबार मकाउमा ११ जना नेपाली सेक्युरिटी गार्ड पक्राउ परेका छन् । मकाउ प्रहरीका अनुसार पक्राउ परेका ७ जनाले मोबाइलमार्फत पोर्न भिडियो सेयर गरेको स्वीकार गरेका छन् । उनीहरूले पैसा कमाउने उद्देश्यले नभई साथीभाइलाई मोबाइलबाट भिडियो सेयर गरेको बताएका प्रहरीले जनाएको हो ।
मकाउ प्रहरीलाई उधृत गर्दै एनआरएनए मकाउका अध्यक्ष पूर्ण गुरुङले उनीहरूले त्यो भिडियो कुनै वेभसाइटबाट डाउनलोड गरेर सेयर गरेको र थप अनुसन्धान जारी रहेको बताए । अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले करिब तीन साताअघि मोबाइलबाट पोर्न भिडियो सेयर भइरहेको जनाउ दिँदै अनुसन्धान गर्न मकाउ प्रहरीलाई आग्रह गरेको बताइएको छ।
स्थानीय टेलिभिजन डी मकाउका अनुसार मे र जुलाई महिनाको बिचमा सेयर गरिएको उक्त भिडियो एक बालिकासँग एक पुरुषले यौन सम्पर्क गरिरहेको २ मिनेट २९ सेकेण्डको रहेको छ, जुन कार्य अपराध मानिन्छ ।
‘प्रहरीका अनुसार पोर्न भिडियो आफुले हेरेर मोबाइलबाट अरुलाई पनि सेयर गरेका रहेछन्, अहिले उनीहरूलाई थुनामै राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ’, गुरुङले भने ।
पक्राउ परेका ११ जना नेपाली यहाँका चारवटा कम्पनीमा सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेको र उनीहरू २१ देखि ३६ वर्ष उमेरका रहेको जनाएको छ ।