नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ भदाै ।
क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी-२० क्रिकेट प्रतियोगितामा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले लगातार पाँचौ खेलमा विकेट लिएका छन्। यसअघिका चार खेलमा पाँच विकेट लिएका जमैका तलावाजका बलर सन्दीपले विहीबार बार्बाडोसविरुद्धको खेलमा दुई विकेट लिए। जससँगै सन्दीपले जारी सिपिएलका पाँच खेलमा सात विकेट लिएका छन्।
सन्दीपले विहीबार चार ओभरमा दुई विकेट लिँदा १६ रन दिए। उनले १३ बल डट फ्याँक्दा १ चौका मात्र दिए। सन्दीपले विहीबार बार्बाडोसका रासिद खानलाई शून्य र एस्ले नर्सलाई २ रनमा आउट गरे। तर खेलमा जमैकालाई बार्बाडोसले ३६ रनले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको बार्बाडोसले २० ओभरमा ७ विकेटको क्षतिमा १४८ रन जोड्यो। उसका लागि केल मेयर्सले ८५ रन जोडे। उनले ५९ बलमा तीन चौका र ८ छक्का प्रहार गरे। बलिङमा जमैकाका सन्दीपले २ विकेट लिँदा मुजिब उर रहमानले ३ विकेट हात पारे।
रहमानले ४ ओभरमा १६ रन दिए।
१४९ रनको लक्ष्य पछ्याएको जमैकाले २० ओभरमा ९ विकेटको क्षतिमा ११२ रन मात्र जोड्न सक्यो । उसका लागि एनक्रुमान बोनरले सबैभन्दा बढी ३१ रन जोडे।
जर्मिन ब्ल्याकउड २८ रनमा आउट हुँदा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। दशौं नम्बरमा ब्याटिङमा आएका सन्दीपले ६ बलमा नटआउट ४ रन जोडे। जारी लिगमा जमैकाको यो पाँच खेलमा तेस्रो हार हो। जमैका दुई जितबाट चार अंक जोडेर अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ।