आरआर क्याम्पस : विसिए र स्नातकोत्तर तहको अनलाइन कक्षा २१ भदौदेखि

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको रत्न राज्यलक्ष्मी क्याम्पसले आगामी २१ भदौदेखि अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयको निर्देशनअनुसार क्याम्पसले व्याचलर्स इन कम्प्युटर एप्लिकेशन (विसिए) र स्नातकोत्तर तहको लागि २१ भदौदेखि अनलाइन कक्षा सञ्चालन गर्न लागेका हो । रत्न राज्यलक्ष्मी क्याम्पसका क्याम्पस प्रमुख डा.जीवनधर ज्ञावलीकाअनुसार स्नातकोत्तरको तेस्रो सेमिस्टर, विसिएको दोस्रो र चौथौ सेमिस्टरको पठनपाठन २१ भदौदेखि अनलाइन कक्षामार्फत् हुने भएको हो ।

‘स्नातकोत्तरको दोस्रो सेमेस्टरको परीक्षा रोकिएको छ र परीक्षा पनि तत्काल हुन नसक्ने भएकाले त्यसका लागि केही समय पर्खिनु पर्ने अवस्था छ’ क्याम्पस प्रमुख ज्ञावलीले नवकान्तिपुर डटकमलाई भने ‘अब शैक्षिक सत्र खेर नजानेगरी स्नातकोत्तर दोस्रो सेमिस्टरको परीक्षाको तयारीमा लागेका विद्यार्थीको लागि विश्वविद्यालयको निर्देशनअनुसार क्याम्पसले तेस्रो सेमिस्टरको पठनपाठन यही भदौ २१ गतेबाट सुरू गर्न लागेको हो ।’ त्यसैगरी, परीक्षा दिन रोकिएका व्याचलर्स इन कम्प्युटर एप्लिकेशन (विसिए) पहिलो सेमिस्टरका विद्यार्थीहरूलाई दोस्रो र तेस्रो सेमिस्टरका विद्यार्थीहरूलाई चौथो सेमिस्टरको समेत अनलाइन पठनपाठन सुरू गर्न लागिएको उनले बताए । गत चैतको तेस्रो साताबाट स्नातकोत्तर पहिलो सेमिस्टरको पठनपाठन पनि अनलाइन कक्षाबाट नै चलिरहेको र अब कोर्स पनि सकिनै लागेको उनले जानकारी गराए ।



‘अनलाइन क्लासमा सहभागी हुनका लागि क्याम्पसले विद्यार्थीहरूलाई सम्पर्क गरिरहेको र विश्वविद्यालयले पनि सूचना जारी गरिसकेको छ’ क्याम्पस प्रमुख डा.ज्ञावलीले भने ‘शिक्षक र कर्मचारीहरूको हकमा पनि सबै सम्पर्कमा नै रहेकोले त्यसमा पनि कुनै समस्या छैन ।’

एक तहको सेमिस्टरको परीक्षा सकेर मात्र विद्यार्थीहरूलाई अर्को सेमिस्टरमा जाने विगतको अभ्यासलाई यसपटक विश्वविद्यालयले परीक्षा नै नदिएको अवस्थामा पनि अर्को सेमिस्टरमा अध्ययन गर्न बाटो खोलिदिएको हो । त्यसैले सेमेस्टर प्रणालीमा सञ्चालित परीक्षा सञ्चालन हुन नसकेको अवस्थामा पनि विद्यार्थीहरूलाई माथिल्लो सेमेस्टरमा पढाउन सुरू गर्न लागिएको हो ।

क्याम्पस प्रमुख ज्ञावलीकाअनुसार अहिले स्नातक तह बीए तेस्रो वर्षका विद्यार्थीहरू परीक्षाको तयारीमा रहेका छन्, भने पहिलो वर्ष र दोस्रो वर्षको भने कोर्स नै बाँकी रहेको छ । बीए पहिलो र दोस्रो वर्षको पठनपाठनको लागि विश्वविद्यालयले अहिलेसम्म कुनै निर्देशन नगरेको अवस्था भएपनि विद्यार्थीहरूलाई क्याम्पसको सम्र्पकमा रहिरहन भनेको उनले बताए । ‘विश्वविद्यालयले निर्देशन दिने बित्तिकै बीए पहिलो र दोस्रो वर्षको पठनपाठन पनि सुरू हुन्छ । अनलाइन क्लासमा जाने भन्ने भइरहेको छ’ उनले भने ‘त्यसका लागि तयारी भइरहेकोले अहिले नै यसै दिनबाट सुरु हुन्छ भन्न सकिने अवस्था छैन ।’

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले लकडाउन जारी गर्नुभन्दाअघि गत चैत ६ गतेदेखि त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण पठनपाठन तथा परीक्षाहरू स्थगन गरेको थियो । गत चैत महिनामा स्थगित परीक्षा दशैंअघि नै सञ्चालन गर्नेगरी त्रिविले अहिले आन्तरिक तयारीसमेत थालेको छ ।

 

सम्बन्धित समाचार