मातृत्व र पुरुषत्व (कविता)

तस्विरमा कवियत्री

 

हस्पिटलको बेड्मा जब नर्सले
हेर्नुस् तपाईंको बच्चा, भन्दै
मेरो पुरानो पेटिकोटको टालोमा गुट्मुट्याएर
तिम्रो शरीर मेरो काखमा राखिदिइन्
तब तिम्रो योनी हेर्दै म डाको छोडेर रोएँ ।



विवाहको पहिलो रात
मेरो शरीरलाई अंकमाल गर्दै तिम्रो बाबाले
‘हाम्रो पहिलो सन्तान छोरा हुनुपर्छ नत्र…’
भन्दै मेरो घाँटी समाएको सम्झिएँ,
अनि मेरो मुटु डरले काम्न थाल्यो ।

अथाह हर्ष र खुशी पोतिएको
ममतामय पछ्यौरीको सप्कोले
कोमल शिशुको शरीर ढाकिदिएँ ।

सुकेको घाँटी, दुखेको शरीर
कलेंटी परेको ओंठ
अनि अनिदा आँखाहरू लिएर
त्यही चिसो कोठामा
ढोकातिर घाँटी तन्काउँदै
तिम्रो बाबाको बाटो हेरिरहेकी म
स्वाँक–स्वाँक गर्दै
आँशुको घुट्को पिएर
उनैको प्रतीक्षा गरिरहेँ
तर त्यो मेरो पर्खाइ
नमिठो बिछोडको पीडा बनेर
छातिमा सधैं चर्किरह्यो ।

टाउकाको नाम्लोले
पिठ्यौंको भारी थेगेर
दुधको मुन्टो चुसाउँदै
छातीमा टाँसेकी छोरीलाई
च्यातिएको फरियाको फेरमा
मसिना आलु सिला खोजेर पोको पार्दै
ठूलो मान्छे बनाउने अठोटका साथ
मातृत्वको बगैंचामा कोपिला फुलाउँदै गरेकी आमाको वेदना
पुरुषत्वको सनई फुकेर हिँडेको त्यो लोग्नेलाई के थाहा ?

 

सम्बन्धित समाचार