नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ भदाै ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा राष्ट्रियसभामा कसलाई लैजाने भन्ने विषयमा चर्को मतभेद देखिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको समयावधि यही भदौ २० मा सकिने भएकोले राष्ट्रियसभामा उनलाई नै दोहोर्याउने कि यसअघि नै पार्टीले निर्णय गरिसकेका उपाध्यक्ष वामदेवलाई पठाउने भन्नेमा पार्टीभित्र मतभेद भएको हो । प्रधानमन्त्री केपी ओलीले युवराजलाई नै राष्ट्रियसभामा दोहोर्याउने बताएपछि पछिल्लो समय नेकपाको विवाद नयाँ सिराबाट अगाडि बढेको छ ।
गत सोमबारको भेटमा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच राष्ट्रियसभामा कसलाई पठाउने भन्नेबारे छलफल भएको थियो । गत फागुन १४ गतेको सचिवालयले नै गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेकोले अब सोही निर्णयको कार्यन्वयन गर्नुपर्ने प्रचण्डले बताएका थिए । त्यतिबेला प्रचण्डको कुरामा सहमति जनाएका ओलीले पछि एकाएक युवराजलाई नै राष्ट्रियसभामा दोहोर्याउने अभिव्यक्ति दिएका थिए । ओलीले आफूहरूको समझदारीविपरीत सार्वजनिक रूपमा अभिव्यक्ति दिएपछि फेरि पछिल्लो समय ओली र प्रचण्डबीच राष्ट्रियसभामा कसलाई पठाउने भन्नेमा विवाद सुरू भएको छ ।
राष्ट्रियसभामा गौतमलाई पठाउने पार्टी निर्णय ओली नमानेपछि सोमबार प्रचण्डले सार्वजनिक रूपमै असन्तुष्टि पोखे । उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘पार्टी भनेको विचार र विधि हो । विचार मात्रैले पनि पार्टी बन्दैन र विधि मात्रैले पनि पार्टी बन्दैन । अझ कम्युनिष्ट पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन हो ।’ ओली विधीसम्मत नहिँड्दा पार्टीभित्र विवाद सिर्जना हुने गरेको प्रचण्डको भनाई थियो ।
फेरियो समीकरण
राष्ट्रियसभामा गौतम कि युवराज भन्ने विषयले नेकपामा नेताहरूलाई फेरि २ ध्रुवमा बाँडेको छ । पछिल्लो समय ओली खेमामा पुगेको गौतमलाई प्रचण्ड र माधव नेपालले दाह्रो साथ दिएका छन् । यता महासचिव विष्णु पौडेलले पनि गौतमलाई नै राष्ट्रियसभामा पठाउनुपर्ने अभिव्यक्ति दिएका छन् । अन्ततः ओली युवराजलाई बोक्दा पार्टीभित्रै एक्लिएका छन् ।
युवराजको अडानबाट ओली पछि नहटेमा पछिल्लो समय कार्यदलको प्रतिवेदनको आधारमा पार्टीभित्रको विवाद समाधान गरेर महाधिवेशनमा जाने निर्णय नै धरापमा पर्ने हो की भन्ने आशंका उब्जिएको छ । कार्यदलको प्रतिवेदनले पार्टीलाई विधानसम्मत सञ्चालन गर्ने भनिए पनि ओलीले युवराजलाई दोहोर्याउने बताएर विधिको उल्लंघन गरेको प्रचण्ड–नेपाल समूहको आरोप छ ।
मै जान्छु राष्ट्रियसभामा : गौतम
ओलीबाट फेरि आफूलाई धोका हुन खोजेको बुझेपछि सोमबार गौतमले ओलीलाई भेटेर आफू राष्ट्रियसभामा जाने बताएका थिए । ओलीले अछामबाट प्रतिनिधिसभाको निर्वाचन गराएर संसदमा ल्याउने बताए पनि गौतमले अहिले उपनिर्वाचनको माहोल नभएको भन्दै राष्ट्रियसभामै जाने बताएका थिए ।
कोरोना कहरका कारण कम्तिमा पनि ६ महिना उपनिर्वाचनको सम्भावना नरहेको र त्यसपछि पनि निर्वाचन प्रक्रियाबाट संसद प्रवेश गर्न कम्तिमा १ वर्ष लाग्ने भन्दै अर्को निर्वाचनको मुखमा प्रतिनिधिसभामा जानुभन्दा आगामी निर्वाचनमार्फत नै प्रतिनिधिसभामा आउने भन्दै यसपटक राष्ट्रियसभामा जाने गौतमले बताएका थिए । आफूलाई राष्ट्रियसभामा लाने विषयमा ओलीबाहेक पार्टीका अन्य नेता सकारात्मक भएको बुझेपछि गौतम फेरि एकपटक ओलीसँग रूष्ट हुन पुगेका छन् ।