‘कोरोना मूल सडकलाई लाग्ने होइन’

कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा एक हप्ता निषेधाज्ञा थप गरिएको छ । उपत्यका कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गत भदौ ३ गतेदेखि काठमाडौं उपत्यकामा एक हप्ताको लागि जारी गरिएको निषेधाज्ञा बढाएर १७ गतेसम्म पुर्याइएको थियो । त्यसपछि पुनः बुधबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले भदौ २४ गते राति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञाको आदेश जारी गरेका हुन् । तर पछिल्लो एक हप्ता थप गरेको निषेधाज्ञा अघिल्ला हप्ताहरूमा भन्दा केही खुकुलो बनाइएको छ ।

अब काठमाडौं उपत्यका प्रवेशका लागि कोरोना संक्रमण नभएको पुष्टि गर्ने पीसीआर रिपोर्टमा पनि अनिवार्य गरिएको छ । निषेधाज्ञाको अवधिमा खाद्यवस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु, बिक्री गर्ने पसल विहान ११ बजेसम्म र औषधी र पानीको पसल दिनभर खोल्न पाइने जनाएको छ । त्यसैगरी विकास निर्माणसँग सम्बन्धित पसल दिउँसो २ देखि राति ९ बजेसम्म खोल्न पाइने र छोटो दूरीको ढुवानीका लागि प्रयोग हुने सवारी साधन पनि दिउँसो २ देखि ९ बजेसम्म चल्न पाउनेछन् ।



‘भाइरस माझ बाच्नुपर्छ भनेर बुझ्न नसकेको कि नचाहेको ?’

जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डेले सुरक्षाकर्मीले सडकमा अनुगमन गरेर सडक सुनसान भए पनि भित्री बस्ती र गल्लीमा भीडभाड, मार्निङ वाक, मास्क विना ओहोरदोहोर र सुरक्षाकर्मीको अभाव भएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ‘कोरोना मूल सडकलाई लाग्ने होइन, मान्छेबाट मान्छेमा सर्ने हो, मान्छे सडकमा छैनन्, बस्तीमा छन् ।’ उनले अगाडि थपेका छन् ‘यस्तै हो भने किन जनतालाई घरभित्र थुन्ने ? बरू निषेधाज्ञा खोल्ने र जनस्वास्थ्य मापदण्ड कडाइ गर्ने ।’

त्यसैगरी, डा.समीरमणि दीक्षितले उपत्यकामा पुनः निषेधाज्ञा गर्ने निर्णय न विज्ञानमा आधारीत रहेको न व्यवहारिक नै भएको बताएका छन् । ‘दक्षिण एसियाका विभिन्न देशहरूले समग्र नागरीकको हितलाई मध्यनजर गर्दै लिएका निर्णयहरू बारे गृहकार्य नगरीएको देखियो’ उनले ट्वीटमा भनेका छन् ‘यसले राज्यलाइ सजिलो पारेको छ, आम नागरिकलाइ थप गाह्रो ।’ पीसीआर नतिजामा आधारित सेवा सञ्चालन गर्ने उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको निर्णयप्रति असन्तुष्टि राख्दै उनले भनेका छन् ‘आज स्वस्थ्य भोलि संक्रमित हुनसक्दैन ? सावधानीको मापदण्डमा पो कडाइ गर्नुपर्ने । भाइरस माझ बाच्नुपर्छ भनेर बुझ्न नसकेको कि नचाहेको ?’

निषेधाज्ञा खुकुलो पारिएकोमा नगरपालिका फोरमको असन्तुष्टि

उपत्यका नगरपालिका फोरम काठमाडौंले विहीबार एक विज्ञप्ति जारी गर्दै उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएकोमा असन्तुष्टि जनाएको छ । उपत्यकाभित्र विकास निर्माणसँग सम्वन्धित पसल–व्यवसाय साथै सोको ढुवानीका लागि प्रयोग गर्ने सवारी साधन दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन गर्न सकिने तर, नेपाल सरकारले तोकेको स्वास्थ्य सम्वन्धी मापदण्ड अनिवार्य पालना गर्नुपर्ने व्यवस्थालाई लिएर नगरपालिका फोरमले आफ्नो गम्भीर ध्यानकर्षण भएको भन्दै असन्तुष्टि जनाएको हो ।

‘यही भदौ १८ गतेदेखि लागु हुनेगरी थपिएको निषेधाज्ञामा दिउँसो दुई बजेदेखि साँझ ९ बजेसम्म विकास निर्माणका पसल–व्यवसाय सञ्चालन गर्न सकिने बुँदामा गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसले गर्दा निषेधाज्ञाको खासै अर्थ र उपादेयता नरहने तथ्यलाई ध्यानमा राखी अतिआवश्यक वस्तु र सेवालाई विहान ११ बजेसम्म मात्र खोल्न सकिनेसम्मलाई कायम राख्दै अन्य समयमा पसल–व्यवसाय सञ्चालनमा रोक लगाउने गरी अविलम्ब निषेधाज्ञा आदेश सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिन्छ ।’

सम्बन्धित समाचार