नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ भदौ ।
फ्रान्सका ५७ वर्षका अलन ककलाई कहिल्यै निको नहुने रोग लागेको छ । शनिबारदेखि उनले खान, पिउन र औषधि लिन अस्वीकार गरिरहेका छन् । जसका कारण उनको अवस्था निकै कमजोर बन्दै गएको छ ।
अलनले आफूलाई मर्न मन लागेको बताएका छन् । साथै उनले आफ्नो मृत्युको पल फेसबुकमा लाइभ गरियोस् भन्ने पनि चाहेका छन् । उनको मृत्युइच्छालाई फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले अस्वीकार गरिसकेका छन् ।
यसबीचमा फेसबुकले पनि अलनको मृत्युको पल फेसबुकमा लाइभ गर्ने इच्छालाई अस्वीकार गरेको छ । फेसबुकले अलनको फेसबुक अकाउन्टबाट लाइभस्ट्रिम गर्ने फिचर नै ब्लक गर्ने बताएको छ ।
फेसबुकले मृत्युको पल तथा आत्महत्या लाइभ गर्न नपाउने आफ्नो नियम रहेको प्रतिक्रिया दिएको छ ।