नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ भदौ ।
चिनियाँ जनमुक्ति सेनाको रणनीतिक बम–वर्षक विमान भारतसँगको विवादित क्षेत्र नजिक तैनाथ गरिएको देखिएको छ । भारतसँग सीमा विवाद जारी रहेको समयमा सिमानामा चीनले कम्तिमा तीनवटा एच–६ बम्बर विमान र रियान वाई–२० एयरलिफ्टर युद्धक विमान तैनाथ गरेको देखिएको एससीएमपीले जनाएको छ ।
मंगलबार मात्र चिनियाँ जनमुक्ति सेनाको सामाजिक सन्जाल विबोे अकाउन्टमा तिब्बती क्षेत्रमा बम–वर्षक विमान साथै युद्धक विमान तैनाथ गरिएको जनाइएको थियो । अधिकारीहरुका अनुसार एच–६ बम्बर विमानले एन्टी–सिप क्रुज मिसाइलहरु बोक्नसक्छ। साथै यो एकपटकमा २५ सय किलोमिटर उड्नसक्छ ।
बुधबार मात्र चिनियाँ जनमुक्ति सेनाको वेस्र्टन थिएटर कमाण्डको ७७औं ग्रुप आर्मीले यी विमानहरुले सिनजियाङको मरुभूमिमा आयोजना गरिएको सैन्य अभ्यासमा भाग लिएको जानकारी दिएको थियो । सिनजियाङ लद्दाख नजिकको क्षेत्र हो । लद्दाखको सिमानामा हाल भारतीय र चिनियाँ सेनाबीच विवाद चर्किएको छ ।