नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ भदौ ।
भारतसँगको सीमा नजिक चीनले ५० हजार चिनियाँ जनमुक्ति सेना तैनाथ गरेको भारतीय गुप्तचर एजेन्सीहरुले बताएका छन् । भारत सरकारका उच्च तहका व्यक्तित्वहरुलाई यस विषयमा जानकारी गराइएको इकोनोमिक टाइम्सले जनाएको छ ।
लामो दुरीसम्म मारहान्न सक्ने क्षेप्यास्त्र, १ सय ५० वटा युद्धक विमान पनि चीनले सीमा क्षेत्रमा तैनाथ गरेर राखेको भारतीय एजेन्सीहरुको भनाइ छ । गुप्तचर एजेन्सीहरुका अनुसार तत्काल दुई देशका सेनाबीच युद्ध हुने खतरा नभएपनि भारतीय सेना आगामी दिनमा आउनसक्ने खतरा सामना गर्न तयारी अवस्थामा बसेका छन् ।
चिनियाँ सेनाले हजारौं सेना बढाएर तैनाथ गरेको खबर आइरहँदा भारतले पनि सेनाहरु बढाएर तैनाथ गरेको छ । सीमामा चिनियाँ उत्तेजक कदमको भारतीय सेनाले गतिलो जवाफ फर्काउने भारतले दोहोर्याउँदै बताउने गरेको छ ।
गत मे महिनाबाट चिनियाँ सेनाले सीमा क्षेत्रमा संरचनाहरु खडा गर्ने र हतियारहरु तैनाथ गर्ने कार्य थालेको बताइएको छ । पछिल्लो समय भारत र चीनबीच लद्दाख नजिकैको क्षेत्र गलवान उपत्यका, पाङगोङ सो ताल लगायतका क्षेत्रमा विवाद बढेको छ । गत जुन १५ मा भारतीय र चिनियाँ सेनाबीच विवादित गलवान उपत्यकामा झडप नै भएको थियो। त्यसबेला २० भारतीय सेनाको मृत्यु भएको थियो ।
हालै मात्र सीमा क्षेत्रमा दुवै देशका सेनाले गोली समेत चलाएका थिए । ४५ वर्षमा पहिलोपटक चीन र भारतबीचको सीमामा गोली चलेको बताइएको छ। दुवै देशले एकअर्कालाई पहिले गोली चलाएको भनेर आरोप लगाएका छन् । सीमा विवाद सुल्झाउने विषयमा दुवै देशबीच छलफल पनि जारी छ । कमाण्डरस्तरमा गत जुन यता ५ पटकभन्दा बढी वार्ता भइसकेको छ । हालै रुसमा चीन र भारतका रक्षामन्त्रीबीच सीमा विवाद साम्य बनाउने सहमति पनि भएको थियो ।