नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ भदौ ।
रुसले संसारको पहिलो कोरोनाभाइरस खोप देशका सबै भागमा पठाएको छ । अधिकारीहरूले यस खोपको वितरण प्रणालीको परीक्षण गरिरहेका छन् । सोमवारसम्ममा सबैतिर खोप पुगिसक्ने अपेक्षा गरिएको रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले बताए ।
पहिलो जत्थामा थोरै खोपहरू पठाइसकिएको छ,’ मुराश्कोले बताए । सरकारले देशका ८५ वटा क्षेत्रमा चुस्त वितरण प्रणाली सुनिश्चित गर्नका लागि आपूर्ति शृंखलाको परीक्षण गरिरहेको छ । खोपको प्रभावकारिता र सुरक्षा परीक्षण गर्नुका अलावा सरकारले नागरिकलाई प्रभावकारी वितरण पनि अत्यन्तै महत्त्वपूर्ण रहेको विश्वास लिएको छ । विशेषगरी उच्च जोखिममा रहेकाहरूलाई खोप दिइँदैछ ।
रुसले देशमै बनाएको कोभिड–१९ खोप अहिले तेस्रो तथा अन्तिम परीक्षणको चरणमा छ । त्यसमा ४० हजारजना मस्कोवासीले भाग लिएका छन् । तीन चौथाइलाई खोप दिइनेछ भने एक चौथाइलाई झूटोमुटो औषधि दिइनेछ । बुधवार मस्कोकी उपमेयर अनास्तासिया राकोभाले परीक्षण शुरू भइसकेको र ३५ हजारभन्दा बढी मानिसले निवेदन दिएको बताइन् ।
अगस्ट ११ मा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले स्पुतनिक भी नामक संसारको पहिलो कोभिड–१९ खोप दर्ता गरेको घोषणा गरेका थिए । हतार गरेर खोप निकालिएको भनी आलोचना गरिएको भए पनि सम्मानित मेडिकल जर्नल द ल्यान्सेटले रुसी खोपबाट इम्युन रेस्पोन्स भएको छापेको छ ।