सन्दिप लामिछानेलाई भारतको राष्ट्रिय टिमबाट खेलाउनुपर्छः भारतका पूर्वकप्तान गावस्कर

भारतका दिग्गज ब्याट्सम्यान तथा भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सुनील गावस्करले नेपाली लेगस्पिनर सन्दिप लामिछानेलाई भारतको राष्ट्रिय टिमबाट खेल्ने अवसर दिइनुपर्ने बताएका छन् । भारतीय च्यानल ‘स्पोर्टस तक’सँग यूएइमा सुरु हुन लागेको आइपिएलबारे कुरा गर्दै गावस्करले यस्तो धारणा राखेका हुन् ।

यदि इङल्याण्डले स्कटल्याण्ड र आयरल्याण्डका खेलाडीहरुलाई आफ्नो टिमबाट खेलाउन सक्छ भने भारतले लामिछानेजस्तै नेपाली खेलाडीहरुलाई आफ्नो टिममा समावेश गर्नेतर्फ पहल गर्नुपर्ने बताए । उनले अहिले नै यो कुरा मजाक जस्तो लागे पनि भविष्यमा यस्ता विषयमा सोच्नुपर्नेमा जोड दिए । गावस्करले लामिछाने राम्रो खेलाडी भएको बताउँदै उनले भारतीय रंगमा अझै राम्रो गर्न सक्ने पनि बताए । सन्दिप आइपिएलमा दिल्ली क्यापिटल्सबाट खेल्दैछन् ।



यस सिजनको आइपिएलमा सन्दिपको स्थानबारे कुरा गर्दै गावस्करले उनी यो सिजन दिल्लीका दिग्गज स्पिनर अमित मिश्राभन्दा अगाडि प्लेइङ ११ मा पर्नुपर्ने धारणा राखे । सन्दिपको प्रशंशा गर्दै गावस्करले उनी निकै राम्रोसँग सिक्न सक्ने खेलाडी भएको र आफ्नो अगाडि आएका अनुभवबाट उनले आफूलाई निकै राम्रो बनाउँदै लगेको बताए । गएको सिजन आइपिएलमा सन्दिपले ८ खेलमा १७.२५ को स्ट्राइक रेटमा ८ विकेट लिएका थिए ।

सम्बन्धित समाचार