नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ असोज ।
स्पेनिस ला लिगा नयाँ सिजनको पहिलो खेलमा साविकको विजेता रियल म्याड्रिड रियल सोसिडाडसँग बराबरीमा रोकिएको छ । घरेलु टोलीलाई लगातार दवावमा राखे पनि रियलका अग्रपंक्तिका खेलाडीले गोल गर्न नसक्दा रियल पहिलो खेलमा नै गोलरहित बराबरीमा रोकिन बाध्य भयो ।
पहिलो हाफमा दुवै टोलीले गोलको उल्लेख्य मुभ बनाउन सकेका थिएनन् । ४२ औं मिनेटमा रियल म्याड्रिडका गोलरक्षक थिवाउट कोर्टुवाले मिकेल ओएरजावलको प्रहारलाई सहजै नियन्त्रणमा लिएका थिए ।
६१ औं मिनेटमा करिम बेन्जेमाले अवसर पाए पनि सदुपयोग गर्न नसक्दा रियल म्याड्रिड अग्रता लिनबाट चुक्यो । ७७ औं मिनेटमा मिनिसियस जुनियरको पासमा युवा खेलाडी मार्भिन पार्कले बललाई नियन्त्रणमा लिएर प्रहार गर्न नसक्दा रियल पुनः अग्रता लिनबाट चुक्यो ।
त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा खेल निराशाजनक गोलरहित बराबरीमा टुंगियो । प्रशिक्षक जिनेदिन जिदानले सोसिडाडविरुद्धको खेलमा ‘बी’ टिमका दुई खेलाडी मार्भिन पार्क र सर्जियो एरिवासलाई सिनियर टोलीमा डेब्यु गराएका थिए । मार्टिन ओडेगार्डले पहिलो रोजाईमा स्थान पाएपनि सोचेअनुरूपको प्रदर्शन गर्न सकेनन् ।