नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ असोज ।
भारतको र चीनको सम्बन्ध चिस्सीइदै गइरहेको छ । सीमा क्षेत्रमा यी दुई देशका सेनाबीच बेलाबेला खटपट परिरहेको छ । भारत र चीनका सैनिकबीच गत जुन १५ मा लद्दाखको गलवान उपत्यकामा झडप भएको थियो । त्यसमा २० भारतीय सैनिक मारिएका थिए ।
पछिल्लो पटक भारतले चीनलाई सीमामा चिनियाँ सैनिक अगाडि बढ्यो भने भारतीय सैनिकले गोली चलाउने चेतावनी दिएको छ । भारतको शीर्ष अंग्रेजी पत्रिका द हिन्दुको रिपोर्टअनुसार भारतले चीनलाई स्पष्ट शब्दमा यस्तो चेतावनी दिएको हो ।
भारतीय सैनिक अधिकारीले भनेका छन्, ‘हामीले चीनलाई भनेका छौं -यदि चिनियाँ सैनिक हाम्रो नजिक आए भने हामी गोली चलाउँनेछौं । हाम्रा सैनिकलाई आत्मरक्षाका लागि गोली चलाउने अधिकार दिएका छौं ।’
हालैका दिनमा पूर्वी लद्दाखको पेङग्वाङको त्सो तालनजिक भारत र चीनका सैनिकबीच पटकटपटक हवाई फायरिङ भइसकेका छन् । भारत र चीनबीच छैटौं चरणको वार्तामा दुई देशको सीमामा धेरै सैनिक नपठाउने सहमति भएको छ ।
तर भारतीय अधिकारीले सीमामा आफ्नो शक्ति बलियो बनाएर राख्ने बताएका छन् । ती भारतीय सैनिक अधिकारीले भने, ‘हाम्रो अडान स्पष्ट छ- पहिले चीन अगाडि बढेको हो, अब उसैले पछि हट्नुपर्छ ।’