नेकपाको महाधिवेशन र नयाँ पुस्ताको दायित्व

कम्युनिष्ट आन्दोलन एउटा श्रृङ्खला हो । यो वर्गीय आन्दोलनको श्रृङ्खला पनि हो । समाजमा वर्गहरूको अस्तित्व रहेसम्म यो जारी रहन्छ । सामाजिक परिवर्तन र आर्थिक रूपान्तरणका हरेक चरणमा नयाँ दायित्व र भूमिकाका साथ अघि बढिरहन्छ । सन् १८४८ मा कार्लमाक्र्सद्वारा कम्युनिष्ट घोषणा पत्र जारी भएपछि कम्युनिष्ट आन्दोलनले संगठित स्वरूप र निश्चित दिशा लिएको हो । तत्पश्चात् संसारभरि निरन्तर संघर्षको मैदानमा अनेक किसिमका हण्डर–ठक्कर खाँदै, उकाली–ओराली पार गर्दै अनि विजय पराजयका अनुभव सँगाल्दै आन्दोलन अघि बढिरहेको छ ।

यस क्रममा आन्दोलनले कयाैं विजय–पराजयका अनुभव संगालेको छ । संगठन विघटन तथा पुनर्गठनका अनेक चरण उपकरणहरू पार गरिसकेको छ । पेरिस कम्युनको अनुभव, रूसी अक्टोबर क्रान्तिको अनुभूति र चिनी नयाँ जनवादी क्रान्तिको शिक्षा, भियतनामको क्रान्ति, क्युबाको क्रान्ति हुँदै आन्दोलन अघि बढेर आइरहेको छ । यसपछि पनि संसारको कम्युनिष्ट आन्दोलनले एशिया, अफ्रिका र ल्याटिन अमेरिकामा सहित सम्पूर्ण युरोप र विश्वभरि उलट पुलट उथल–पुथल ल्याउँदै एउटा युगको अन्त्यसमेत भैसकेको छ ।



कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनको अग्रगतिको निमित्त सोच्ने, चिन्तन गर्ने र सम्पूर्ण जीवन नै समर्पित गर्ने कैयौं पुस्ता बितिसकेको छ । माक्र्स–एगेल्स, लेनीन–स्टालिन, र माओत्सेतुङ्ग–देङ्सियाओपिङ, हुँदै कमरेड होचिमिन्ह, फ्रिडेल क्यास्ट्रोसम्मले आफ्नो जीवन गुजारी सकेका छन् । समाजवादी विकासको एउटा युगकै प्रतिनिधित्व गर्ने सोभियत समाजवादी गणतन्त्र संघसहित सम्पूर्ण पूर्वी युरोपको समाजवादी व्यवस्थाको पतन भैसकेको छ । सम्पूर्ण पूर्वी युरोप अहिले कम्युनिष्ट आन्दोलनको पुनर्गठनको सकसपूर्ण अवस्थामा पुगेको छ । तेस्रो विश्वका राष्ट्रहरूमा समेत कम्युनिष्ट आन्दोलनले नवीन सोच र चिन्तनका साथ अघि बढ्नु पर्ने बाध्यात्मक अवस्थाको श्रृजना भैसकेको छ ।

ठीक यसै बेलामा नेपाल कम्युनिष्ट पार्टी व्यापक जनताको प्रतिनिधित्व गर्ने कम्युनिष्ट पार्टीको रूपमा स्थापित भएको छ । पार्टीका संस्थापक कमरेड पुष्पलाल श्रेष्ठले अघि सार्नु भएको विचार र जननेता कमरेड मदनकुमार भण्डारीको नवीन चिन्तन, सोच र शैलीका साथ अघि बढेर यहाँसम्म आइपुगेको हो । नेपाली कम्युनिष्ट आन्दोलन विश्व कम्युनिष्ट आन्दोलनको पनि एउटा महत्वपूर्ण हिस्सा हो । यसले नेपाली क्रान्तिको कार्यक्रमको रूपमा जनताको बहुदलीय जनवादलाई अंगीकार गरेर विश्व कम्युनिष्ट आन्दोलनमैं नयाँ आयाम थप्ने सोच अघि सारेको थियो ।

हिजो आज सम्पूर्ण विश्वमा आएको प्रजातान्त्रिककरणको लहरले कम्युनिष्ट आन्दोलनल्ऽाई पनि प्रभावित गरेको हो । त्यस अनुसार नेपाली कम्युनिष्ट आन्दोलनले पनि विश्व कम्युनिष्ट आन्दोलनलाई निकै आकर्षित गरेको छ । संसारका धेरै देशका कम्युनिष्ट पार्टीहरूले आफ्ना सिद्धान्त, नीति र कार्यक्रमलाई परिष्कृत र परिमार्जन गर्दै समय सापेक्ष तथा विश्व परिस्थिति अनुकूल बनाउँदै अघि बढेर सफलतासमेत हासिल गरिरहेका छन् । नेपाली कम्युनिष्ट आन्दोलन समकालीन विश्वमा चालु वामपन्थी आन्दोलनहरूमध्ये सर्वाधिक सफल आन्दोलन पनि हो ।

नेपाली कम्युनिष्ट आन्दोलनले आफ्नै धरातल, सोच र चिन्तनलाई नयाँ ढंगले पुनर्गठित र स्थापित गर्दै अघि बढिरहेको छ । नेपाली कम्युनिष्ट आन्दोलन व्यापक जनसमर्थन आर्जन गर्दै तीव्र गतिले अघि बढिरहेको अवस्था हो । अब यसले आफ्नो वर्ग आधार तथा जनाधारलाई व्यापक र फराकिलो गर्नु पर्दछ । अहिले हामीले आफ्नो पहिचान र विश्वास अनि आदर्शलाई अझ मजबुत पार्दै अघि बढ्न सक्नु पर्दछ । नेपाल कम्युनिष्ट पार्टी नै एक मात्र भरपर्दो र लोककल्याणकारी राजनीतिक शक्ति भएको कुरा जनताको बीचमा सावित गर्नु पर्दछ अनि अरू राजनीतिक पार्टीहरू क्षणिक र भ्रम मात्र हुन भन्नेकुरा प्रमाणित गर्न सक्न्नु पर्दछ ।

तस्विरमा लेखक पुरुषोत्तम पौडेल

वास्तवमा सबै किसिमका पुँजीवादी राजनीतिक विकल्पहरू भूत र विगत मात्र हुन् । नेपाल कम्युनिष्ट पार्टीले लिएको समाजवाद निर्माण अर्थात् समाजवादी विचार भविष्यमुखी विकल्प हो । हामीले गर्ने हरेक काम कार्वाही र राजनीतिक निर्णयहरू भविष्यका निम्ति गर्नु पर्दछ । हाल नेपाली कम्युनिष्ट आन्दोलनको मूल शक्ति नेकपा विगतसँग सम्झौता गर्दै वर्गीय रूपले घोलमोल बाटो समातेर अघि बढ्न खोजिरहेको देखिन्छ । पार्टीका नीति तथा कार्यक्रमहरू भविष्यप्रति चिन्तित तथा आकर्षक भए पनि नेतृत्व भने नव–उदारवादी व्यक्तिवादतर्फ उन्मुख भएको छ । देश, जनता र पार्टीको भविष्यप्रति संवेदनशील हुनुभन्दा आफ्नै सुरक्षामा केन्द्रित भएर बलियो गुटबन्दीमा रमाएको देखिइएको छ । पार्टी नेतृत्वले आफूलाई ठीक ढंगले सच्याउन, सुधार गर्न र माक्र्सवादजनित समाजवादी लक्ष्यतर्फ अघि बढाउन तयार नभए पार्टी बिसर्जनतर्फ जाने खतरा बढ्दै छ ।

कम्युनिष्टहरूका हरेक कदम र निर्णयले भविष्यलाई उज्यालाे बनाउनु पर्छ । हाम्रा सबै निर्णय र कामका परिणामहरूले भविष्यको पुस्ता र युवाहरूलाई आकर्षित गर्नु पर्दछ । हाम्रा नीति र कार्यक्रमहरूले नयाँ पुस्तालाई सहयोगी र सहभागी गराउन आह्वान गर्नु आवश्यक हुन्छ । हामीले हाम्रो पार्टी, संसद र सरकारमा त्यसलाई कत्तिको अंगीकार गरेका छौ ? व्यवहारमा मूल्याङ्कन गर्दै अघि बढ्नु आवश्यक छ । हाम्रो पार्टील्ऽे संगठन निर्माण, आम जनपरिचालन अनि जनता र जनसंघर्ष सञ्चालनमा युवा पुस्ताको कत्तिको रहरलाग्दो सहभागिता गराइरहेको छ ? गम्भीरतापूर्वक समीक्षा गरिनु आवश्यक हुन्छ ।

जिल्ला तथा प्रदेश स्तरको नेतृत्वमा अहिले पनि युवाहरूको उपस्थिति महत्वपूर्ण छ । तर निती निर्माण गर्न र निर्णय कार्यान्वयन गर्नमा पुरानो पुस्ता नै हावी देखिन्छ । अहिले नेपाली कम्युनिष्ट आन्दोलनको पहिलो पुस्ताले विदा लिइसकेको छ । तेश्रो महाधिवेशन पछिको पुनर्गठनकालमा सक्रिय दोस्रो पुस्ता पार्टीको नेतृत्व गरिरहेको छ । यो पुस्ताले अब क्रमशः विदा लिने बेला हुन लागेको अवस्था हो । अब पार्टी नेतृत्वमा तेस्रो पुस्ताको प्रभावकारी उपस्थिति अर्थात् हस्तक्षेप जरूरी भैसकेको छ ।

स्थापना कालको पहिलो पुस्ताले देश र जनताको निम्ति जीवन दिएर विदा लिइसकेको छ । तेस्रो महाधिवेशनपछि विभाजित कम्युनिष्ट आन्दोलनलाई झापा आन्दोलन, हर्रे–वर्रे संघर्ष, जुगेडी संघर्ष र प्युठानसहित पश्चिम नेपालमा भएका आन्दोलनले पुनर्गठन सुरू गरेको थियो । यो नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहेको दोस्रो पुस्ता हो । यो पुस्ताले पनि देशको विभाजित कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्नुका साथै गणतन्त्र नेपाल स्थापनासम्मको यात्राको सफल नेतृत्व गरिसकेको छ । यसले यथेष्ठ मात्रामा आफ्नो क्षमता प्रदर्शन गरिसकेको अवस्था हो । अब आन्दोलनलाई सही दिशा दिएर परिणाममुखी बनाउने जिम्मेवारी तेस्रो पुस्ताले लिनु पर्दछ ।

तेस्रो पुस्ता जो २०२५ सालदेखि २०३५ सालसम्म भएका विभिन्न आन्दोलनको प्रभाव र आकर्षणबाट कम्युनिस्ट पार्टीमा संगठित भएको पुस्ता हो । अर्थात् २०३५–०३६ को विद्यार्थी आन्दोलनदेखि २०४६ सालको जनआन्दोलनसम्मको अवधिमा संगठन, संघर्ष, र प्रचारको काममा क्रियाशील तप्का नै तेस्रो पुस्ता हो । यो पुस्ता पार्टीको सैद्धान्तिक, वैचारिक र राजनीतिक अध्ययन, अनुसन्धान र परिष्कार गर्ने काममा समेत क्रियाशील छ । जनताबाट सिकेर जनतालाई सिकाउने असल कम्युनिष्ट आदर्श र परम्पराबाट प्रशिक्षित पनि छ । यो प्रगतिशील आचरण अनि जनपक्षीय संस्कारमा मज्जाले हुर्केको पुस्ता हो । यो पुस्ताको नेपाली कम्युनिष्ट आन्दोलनको संगठन विकास र अग्रगतिमा उल्लेख्य भूमिका रहेको कुरा निर्विवाद छ ।

अझ प्रष्ट भन्ने हो भने २०३५–०३६ सालको विद्यार्थी आन्दोल्ऽन, २०३८ सालको शिक्षक आन्दोलन, २०४२–०४३ को जनपक्षीय अभियानमा सामेल यो पुस्ता २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा खुल्ला छाती लिएर निर्धक्क साथ मैदानमा नेतृत्व गरेर खारिएको पुस्ता हो । यो पुस्ता नै थियो जसले पार्टीलाई गणतन्त्रतिर अग्रसर गरायो र ०६२–०६३ को जनक्रान्तिको भूमिका बनाउन सफल भयो । अहिलेको नयाँ पुस्ता या तेस्रो पुस्ता यही नै हो । यो पुस्ताले विगतमा भएका सामाजिक परिवर्तन र प्रजातान्त्रिक रूपान्तरणको आन्दोलनमा निर्णायक शक्तिको रूपमा भूमिका निभाएको हो । यो पुस्तालाई यथोचित रूपमा स्थापित गरेर क्रियाशील बनाउदै व्यवहारिक रूपमा अघि बढाउनुमा नै अहिलेको नेपाली कम्युनिष्ट आन्दोलनको भविष्य निहीत छ ।

यो पुस्ता पार्टीको नीति निर्माण प्रक्रिया, सङ्गठनात्मक संरचना, अनि संघर्षका हरेक मोर्चामा खारिएको दक्ष जनशक्ति पनि हो । यो तप्कालाई विश्वासका साथ संसदीय तथा गैर संसदीय क्षेत्रसहित राजकीय मामिलामा समेत कुशलता, क्षमता अनि योग्यताका साथ परिचालन गर्नुपर्दछ । यो दरिलो ईच्छा शक्ति र जोश जागरले भरिएको तागतलाई पार्टीले बढी से बढी प्रोत्साहन र परिचालन गरी उत्साही कामकाजी र चलायमान बनाउदै भविष्य निर्माणमा लगाउनु आवश्यक छ । यस्तो सत्कर्ममा हामी लागिरहेका छैनौं ।

मेरो विचारमा तेस्रो पुस्ता या नया पुस्ता नेपाली कम्युनिष्ट आन्दोलनको अक्षय कोष हो । यो कोषमा धमिरा लाग्न दिनु उचित हुँदैन । यो अक्षय कोषमा अहिले नयाँ आम्दानी हुने क्रम रोकिएको छ । यस कोषमा आम्दानी बढाउन, यसलाई संरक्षण तथा प्रबद्र्धन गर्न अनि सदुपयोग गर्नका लागि पुरानो नेतृत्वले कौशल र क्षमता देखाउनु पर्दछ । यो पुस्तालाई संरक्षण र स्थापित गरेर नेपाली कम्युनिष्ट आन्दोलनलाई अझ बलियो सशक्त र प्रभावकारी बनाउनु वर्तमान नेतृत्वको मूल जिम्मेवारी हो । परिस्थितिको माग हुँदाहुँदै पनि नेतृत्व आँफूभन्दा पछि फर्केर हेरिरहेको देखिँदैन ।

नयाँ पुस्तासँग नेपाली कम्युनिष्ट आन्दोलन र भावी पुस्ताको भविष्य गाँसिएको कुरा पुरानो नेतृत्वले अझै बुझ्न सकेको देखिँदैन । पार्टी स्थायी कमिटीको हालैको निर्णय सकारात्मक भए पनि नेताहरूको व्यवहार र नयाँ पुस्तालाई हेर्ने सोच र दृष्टिकोण उत्साहजनक छैन । नेताहरूको साँघुरो घेरा, गुटप्रतिको चरम आशक्ति अनि भड्किलो र उत्ताउला खालका अभिव्यक्ति अनि मनपरी चल्ने तरिकाले पार्टीको सुन्दर भविष्यमा समेत ग्रहण लाग्न थालिसकेको छ । यसले पार्टीको अक्षय कोषको रूपमा रहेको उर्जा हतोत्साहित भएर पलायन हुने खतरा उत्पन्न हुँदैछ ।

अब नेकपाको एकता महाधिवेशन नजिकिँदै गैरहेको छ । महाधिवेशन भनेको पार्टीको नीति र नेतृत्व निर्माण गर्ने सबभन्दा उपल्लो निकाय हो । एउटा महाधिवेशनबाट अर्को महाधिवेशन बीचमा केन्द्रीय कमिटीले महाधिवेशनका निर्णयहरू कार्यान्वयन र व्याख्या गर्ने काम गर्दछ । आगामी महाधिवेशनले विगत महाधिवेशनदेखि आजसम्म भएका प्रमुख घटनाहरूको समीक्षा गर्नुको साथै एकता प्रक्रिया, केन्द्रीय कमिटी, सबै केन्द्रीय निकाय र सरकारका सवै काम कार्वाहीहरूको समीक्षा र मूल्याङ्कन गर्नु पर्दछ । महाधिवेशनले समग्र पार्टी र सरकारलाई समेत आवश्यक दिशा निर्देश गर्न सक्दछ । महाधिवेशनको सर्वाधिक महत्वपूर्ण काम आगामी पाँच वर्षको लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नु हो । नयाँ केन्द्रीय कमिटी, केन्द्रीय पदाधिकारीहरू र केन्द्रीय निकायहरू गठन गर्ने कामसमेत सम्पन्न गर्नु हो ।

महाधिवेशनको प्रक्रिया र पार्टीको समग्र भूमिकामा समेत पार्टीले तेस्रो पुस्ताका सक्षम युवाहरूलाई व्यवस्थित ढंगल्ऽे नेतृत्वमा ल्याउने योजना बनाउनु आवश्यक छ । यसको निम्ति पार्टीको नेतृत्वले पदीय आशक्ति र आपसी तनाव तथा गुटबन्दीलाई तत्काल विसर्जन गर्नु आवश्यक हुन्छ । समयमै नयाँ नेतृत्व निर्माण र अवकाशका बारेमा ठोस छलफल गरेर कार्ययोजना बनाउनु जरूरी हुन्छ । अन्यथा नया पुस्ताले महाधिवेशनको मैदानबाटै आफ्नो नेतृत्व क्षमता प्रदर्शन गर्न र नेपाली कम्युनिष्ट आन्दोलन, नेपाल राष्ट्र र जनताप्रतिको अहम् जिम्मेवारी जनताको जनवाद्लाई शिरोपर गरेर अघि बढ्ने ऑट गर्नु पर्दछ ।

साँच्चै भन्ने हो भने प्रतिस्पर्धा सहितको जनताको जनवाद वर्तमान विश्व परिस्थिति र नेपाली कम्युनिष्ट आन्दोलनको विशिष्ट वैचारिक उपज र नेतृत्वमा नयाँ पुस्ताको सैद्धान्तिक समायोजन पनि हो । यसको मूल्य, मान्यता अनि औचित्य साबित गर्न पनि नयाँ पुस्ताले नयाँ ऊर्जाका साथ पार्टीको नेतृत्व गर्ने तयारी गर्नु पर्दछ । पुरानै चालढाल, पुरानै संस्कार र संकुचनबाट मुक्त नभैसकेको सोच र चिन्तनले जनताको जनवादलाई भ्रमित र दिशाहीन बनाइरहने सम्भावना रहिरहन्छ । यसर्थ नयाँ पुस्ताले खुल्ला र सशक्त वैचारिक पहलकदमी लिएर अग्रसरता देखाउन पछि पर्नु हुँदैन ।।

 

सम्बन्धित समाचार