कमला मुस्कान
काठमाडौं, ८ कात्तिक ।
उन्नतिले छोप्यो डाँडा
ढकमक्क दृश्य देखेँ
प्रगतिका पाइलाभित्र
ठमठमिँदो यात्रा लेखेँ ।
नमेटिने डोब छोडी
सँधै अघि अघि सर्दा
शिखरको फेदी छेऊ
फेरि कालो छायाँ भेटेँ ।
उडीउडी हिँड्ने मन
कता पुगी ठोकियो खै
फर्किएको गोरेटोमा
बाधक आज भेटियो कोई
एकै सर्को बतासले
पनि लिन्छ ज्यान भन्थे
विना काम भौँतारिने
कालो छायाँ भेटियो कोई ।
गहिराइ छुने मुटु
सतहमा तैरिए’सी
मिठो मिठो अति मिठो
सपनाले लठ्याए’सी
बाटो एकै लक्ष्य उही
हिँड्ने सबै यात्री हामी
नाट्यशाला जिन्दगीमा
रङ्गिन मार्ग खोतलेझैँ
हत्केलाका रेखी हेर्दै
दियोे वाणी ज्योतिषीले
ग्रहदशा के के कुन्नि
भन्दै गयो साँचो हो झैँे ।
साना साना कानका लोती
चनाखो भै फुल्न थाले
तग्दिरको व्याख्या सुनी
आँखा उसै खुल्न थाले
हा हा हाँस्तै सोचेँ फेरि
सत्य के हो आखिरमा
संघर्ष नै मुख्य नीति
हुनुपर्छ जीवनमा ।