नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ मंसिर ।
मुक्तिनाथ विकास बैंकलाई बैंकले साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्युन आय भएका सदस्यहरूलाई प्रदान गरी रहेको नवीनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरूको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन तथा अनुसन्धान गरी ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ को प्रथम पुरस्कारबाट पुरस्कृत गरिएको छ । उक्त कार्यक्रम लक्जमवर्गमा आयोजना गरिएको थियो ।
युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२० को लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागिता जनाएका थिए । उक्त प्रतियोगिताको लागि उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथ विकास बैंक लगायत वेनिन र ईथोपियाको १-१ ओटा लघुवित्त संस्थाहरू छनौट भएका थिए । पुरस्कार वापत मुक्तिनाथ विकास बैंकले १ लाख युरो नगद प्राप्त गरेको छ । प्राप्त पुरस्कार रकमबाट न्युन आय भएका सदस्यहरूलाई डिजिटल बैंकिङ्गमा सहभागी गराउन विभिन्न कार्यहरू गरिने बैंकले जनाएको छ ।
मुक्तिनाथ विकास बैंकको ४२ जिल्लामा रहेका १३८ ओटा शाखाहरूमध्ये ११८ वटा शाखामार्फत् साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आई रहेको छ । साना तथा लघु बैंकिङ्ग अन्तर्गत १ लाख ८० हजारभन्दा बढी ग्राहक सदस्यहरूले प्रत्यक्ष सेवा लिइरहेको तथा यस क्षेत्रमा रु. १७ अर्बभन्दा बढी लगानीमा रही रहेको विज्ञप्तिमा उल्लेख छ ।