टोकियोमा हुने के–वन किक बक्सिङ्गमा नेपाली अविरल भिड्दै

जीवनमा जो कोही पनि हार्न चाहँदैन्, चाहे त्यो कुनै पनि क्षेत्र होस् । ऊ जहिले पनि जित्नै चाहन्छ तर सबैलाई सधैं जित्ने सौभाग्य कहाँ हुन्छ र ? तर यस्ता सौभाग्यशालीमध्येका एक हुन् अबिरल घिमिरे । उनी विगत पाँच वर्षदेखि आफ्नो आमाबुबासँग जापानको नागोया शहरमा बस्दै आएका छन् ।

अहिलेसम्म विभिन्न खेलमा अपराजित घिमिरे डिसेम्बर १३ तारिक टोकियोमा हुने विश्वकै चर्चित के वन किक बक्सिङ्ग प्रतिस्पर्धामा भिड्दै छन् । उनी ब्राजिलियन खेलाडी किमुरा फिलिपसँग भिड्न लागेका हुन् । यसअघि नै के वन ग्राण्ड प्रिक्सको टाइटल बेल्ट जितेका किमुरा जापानमा व्यवसायिक के वन किक बक्सिङ खेलाडी हुन् ।



हिमालयन चितुवाका नामले समेत चिनिएका अविरल अग्रजहरूको प्रेरणा अनि आशीर्वादसमेत प्राप्त गरिरहेको बताउँदै जितको लागि कडा मेहनत गरिरहेको बताउँछन् । अविरलले २१ वर्षको उमेरमैं अन्तर्राष्ट्रिय स्तरको किक बक्सिङ टुर्नामेन्ट खेल्ने पहिलो नेपाली युवा खेलाडीसमेत बनेका थिए । पछिल्ल्ऽो समय सेप्टेम्बर १४ मा टोकियोमैं भएको ७० किलो तौल समूहको भिडन्तमा जापानका चर्चित किक बक्सिङ फाइटर थाचुयालाई हराउँदै अविरलले आफ्नो विजयलाई निरन्तरता दिएका थिए । अविरलले यसअघि खेलेका हिट ४७ व्यवसायिक किक बक्सिङ सहित ९ खेलमध्ये ८ वटामा जित निकालेका थिए । अविरलले नियमित रूपमा सिमुरा डोजोमा प्रशिक्षण लिँदै आएका छन् ।

करिब पाँच वर्ष जापान बसाइको क्रममा अविरललाई निरन्तर सफलता मिलिरहेको बुबा तथा उनको बक्सिङ्ग खेलका कोच (प्रशिक्षक) देव धिमिरेको भनाइ छ । बुबाकै प्रेरणाबाट आफू यस खेलमा लागेको अविरल बताउँछन् । उनका बुबा देव घिमिरे नेपालका मार्शलआर्टका पूर्व राष्ट्रिय खेलाडीसमेत हुन् । देव घिमिरेले पनि सन् २००४ मा के वन ग्राण्ड प्रिक्स भिडन्त गरेका थिए ।

पछिल्लो समय अविरलको प्रशिक्षण स्थलमा भेटिएका एनआरएनए जापानका उपाध्यक्ष दीपक कार्कीले आफू अलिरलको हौसलाका लागि आएको बताउँदै यसपाली पनि अविरल विजयी हुनेमा आफू विश्वस्त रहेको बताए । त्यस्तै युनिटी गाइजका सल्लाहकारसमेत रहेका अनिल शाक्यले अविरललाई हौसला बढाउन सबैसँग आग्रहसमेत गरे ।

प्रशिक्षण स्थलमा नै भेटिएका एनआरएनए एसिया प्यासिफिक उपसंयोजक पारशमणि पोखरेलले अविरलले किक बक्सिङ्गको माध्यमबाट आफू मात्र नभई नेपाल र नेपालीसमेत चिनाएको बताए । यतिबेला अविरल प्रतियोगिताको अन्तिम तयारीमा जुटिरहेका छन् । प्रक्षिक्षण स्थलमा अविरललाई हौसला प्रदान गर्न नेपाली तथा जापानी खेलप्रेमीहरूको लर्को नै लागेको देख्न पाइन्थ्यो ।

यसैक्रममा जापानकै चर्चित के–वन बक्सर खेलाडी मासादो पनि आएका थिए । उनले अविरलको प्रशिक्षण हेर्नुको साथै अविरललाई विजयको शुभ कामना पनि दिएका थिए ।

(जापानबाट सामग्री सौजन्य : एआरके)

सम्बन्धित समाचार