यस वर्षको एसईई परीक्षा चैतमा असम्भव, जेठमा लिने तयारी

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत महिनामा सञ्चालन गर्न सम्भव नहुने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले स्पष्ट गरेको छ । कोभिड–१९ का कारण परीक्षासँग सम्बन्धित कुनै पनि तयारी शुरु नभएको र यस्तो अवस्थामा आगामी चैतमा परीक्षा सञ्चालन गर्न सम्भव नहुने भनाइ पनिकाको छ ।

परीक्षा नियन्त्रक रामराज खकुरेलले भने, ‘केही तयारी भएकै छैन । यतिबेलासम्म प्रश्नपत्र तयार गर्ने काम निकै अगाडि बढीसकेको हुनुपर्थ्यो । त्यसैले चैतमा परीक्षा गर्न कुनै पनि हालतमा सम्भव छैन ।’



उनले छिटोमा जेठमा मात्र परीक्षा सञ्चालन गर्न सकिने बताए । कक्षा १० का विद्यार्थीहरु कक्षाकोठामा प्रत्यक्ष अध्ययन गर्न पाएका छैनन् । यसले गर्दा विद्यार्थीको सिकाइमा समस्या देखिएको शिक्षकहरुले बताउँदै आएका छन् । आगामी फागुनबाट गर्मी शुरु हुने र त्यसपछिका चार महिनासम्म कक्षाकोठामा अध्यापन गर्न सकिएमा अहिलेको तुलनामा सिकाइमा निकै सुधार आउने र आगामी असारमा परीक्षा सञ्चालन गर्दा उपयुक्त हुने धारणा परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीहरुको छ ।

अहिलेसम्म एसईईका लागि रजिष्ट्रेसन तथा आवेदन फारामसम्बन्धी कुनै पनि कार्य अगाडि बढेकै छैन । जबकी गत २०७६ सालमा असोज ५ गते नै कक्षा ९ का लागि रजिष्ट्रेसन फाराम र कक्षा १० का लागि आवेदन फाराम खुला गरिएको थियो । पुस लाग्न लाग्दा पनि रजिष्ट्रेसन र आवेदन फाराम भराउने वा नभराउने भन्ने नै अत्तोपत्तो छैन ।

विगतमा दशैं लगत्तै प्रश्नपत्र बनाउन विशेषज्ञलाई जिम्मेवारी दिइसकिएको हुन्थ्यो । यसपटक अहिलेसम्म यसबारेमा पनिका आफै अन्योलमा छ । त्यसैले पनिकाले राष्ट्रिय परीक्षा बोर्डलाई हालै पत्र लेखी यसबारेमा स्पष्ट गरिदिन आग्रह गरेको छ ।

सम्बन्धित समाचार