नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ पुस ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्ना सम्पूर्ण बैंकिङ्ग कारोवार कृषि विकास बैंकमार्फत गर्ने भएको छ । यस सम्बन्धमा गत पौष १४ गते दुवै संस्थाबीच सम्झौता भएको छ । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायसहित उच्च पदस्त कर्मचारीहरुको उपस्थितिमा मंगलवार सम्झौता भएको हो ।
दश वर्षे सम्झौता पत्र आदन प्रदान गदै सदस्य सचिव सिलवालले ‘सहकार्यले दुवै संस्थालाई एक ठाउँमा ल्याएको छ र यसको लाभ पनि स्वाभाविक रूपमा दुवैलाई मिल्ने छ’ भने भनें बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले ‘नेपाली खेलकुदसँग प्रत्यक्ष रूपमा जोडिन पाउँदा संस्था गौरवान्वित भएको’ बताए ।
बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ‘दश वर्षको लागि भएको सम्झौतामा बैंकले राखेपका ५ वर्ष स्थायी सेवा अवधि पूरा गरेका कर्मचारीलाई विना धितो १५ लाखसम्म तलबी खाता कर्जा तथा सापट उपलब्ध गराउने छ । परिषद्ले संचालन गर्ने तालिम र सेमिनारमा बैंकका तालिम केन्द्र लगायतका पूर्वाधार प्रयोग गर्दा बैंकले तालिम संचालनमा जारी गरेको दरमा ५० प्रतिशत छुट दिनेछ । यस्तै राखेपले सवै बैंकिङ्ग कारोवार कृषि विकास बैंकमार्फत गर्नेछ । देशका ७७ जिल्लामा नेटवर्क रहेका दुई संस्थाबीचको सम्बन्धले बैंकिङ्ग सेवालाई सहज बनाई वित्तीय सेवा व्यवस्थापनमा सहयोग पुग्न जाने देखिन्छ । परिषद्ले बैंकमार्फत सेवा लिँदा सेवा शुल्कमा सहुलियत हुनेछ भने एकीकृत कारोबार गर्न सहजता हुनेछ । सम्झौता अनुसार बैंकले परिषद् र परिषद्मा आवद्ध कर्मचारीलाई निःशुल्क विद्युतीय भुक्तानीका सेवा उपलब्ध गराउने छ भने संस्थागत सामाजिक उत्तरदायित्वको निश्चित रकम परिषद्मार्फत खेल क्षेत्रमा खर्च गर्नेछ ।’
सम्झौता समारोहका परिषद्को तर्फबाट सदस्यद्वय सुवास श्रेष्ठ, सम्पन्न श्रेष्ठ, विभागीय प्रमुख कुलबहादुर थापा, डेभबहादुर वस्नेत, मधुसूदन बस्नेत, शाखा प्रमुख, राखेप कर्मचारी संघका फनिन्द्र पौडेललगायत अन्य पदाधिकारीेको उपस्थिति थियो भने बैंकका तर्फबाट उप–महाप्रवन्धक यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुख मीनराज पोखरेल, बाग्मती प्रदेश प्रमुख सुन्दरप्रसाद खतिवडा लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । बैंक र परिषद्बीच व्यावसायिक सहकार्य गर्नु सम्झौताको मूल उद्देश्य रहेको छ, भनिएको छ ।