दशरथ उप्रेती
काठमाडौं, १६ पुस ।
कति आफन्त र साथीभाइलाई अलविदा भन्यौं
जीविकोपार्जनका बाटाहरू बन्द भएको सह्यौं
कति घाउ भए, शरीर र मनभरि
तर पनि आशाको मल्हम पट्टी लगाएर
निरन्तर हिँडिरह्यौं– आ–आफ्नो कर्तव्य पथमा ।
तर अब म–
तिम्रो हरेक बिहानको ब्युँझाइमा
आनन्द बनेर उठ्नेछु,
प्रत्येक सुर्योदयका किरणहरूमा
सुखद् समाचार बोकेर आउनेछु,
तिमीलाई पीडाबोध नहुने गरी
तिम्रा घाउका पट्टीहरू खोल्नेछु ।
र,
भयरहित स्वच्छ वातावरणको कल्पनामा
नासिकामा स्वच्छ हावाको प्रवेश गराउँदै,
मुहारको मुस्कान सबैसँग बाँड्नेछु,
तिमीले नचाहेको दुरी घटाउनेछु
अनि,
सबैसँग मित्रताको कसिलो हात मिलाउँनेछु ।
र,
प्रेमले आलिङ्गन गर्दै,
तिमीलाई अभिवादन गर्नेछु,
र भन्नेछु–
तिमी मानव जीवन र अस्तित्वप्रति कृतज्ञ बन
सचेत, सहृदयी र विनयशील बन,
नयाँ उत्साहका साथ,
तिमी नयाँ सपना देख र कर्मठ बन,
आशाको दीयो जगाई
म आत्मसात् गर्नेछु तिम्रा हरेक पाइलाहरूलाई
प्रेरणाको प्रतिमूर्ति बनेर ।
र,
अब सुन्न नपरोस्–
प्रकृतिको यो सुन्दर फूलबारीमा
मानवीय क्रन्दन, सुस्केरा र चीत्कारहरू
नववर्षको शुभकामना !!