नयाँ प्रकारको कोरोनाले बेलायत अस्तव्यस्त, एकैदिन १ हजार बढीको मृत्यु

बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरसले त्यहाँको जनजीवन पुनः अस्तव्यस्त बनाएको छ । तीव्र संक्रामक मानिएको यो प्रकारको भाइरसका कारण त्यहाँ हालसम्मकै धेरै दैनिक संक्रमित र दैनिक मृत्यु संख्या रेकर्ड गरिएको छ ।

बुधबार एकै दिन बेलायतमा कोरोना भाइरसका कारण १ हजार ४१ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । वर्षको अप्रिलपछिकै सर्वाधिक मृत्यु संख्या हो । त्यहाँ एकै दिन ६२ हजार ३२२ जना संक्रमित भएका छन् । यससँगै बिहीबार बिहानसम्म बेलायतमा कुल कोरोना संक्रमित २८ लाख ३६ हजार ८०१ पुगेको छ भने कुल मृतक संख्या ७७ हजार ३४६ पुगेको छ ।



बिबिसीका अनुसार बेलायतमा कोभिड( १९ को ‘न्यू भेरियन्ट’ देखिएपछि ‘मास टेस्टिङ’ सुरु गरिएको थियो । त्यसपछि एकैदिन ६२ हजार ३२२ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमण व्यापक बन्दै गएपछि हाल बेलायतमा देशव्यापी लकडाउन लागू गरिएको छ ।

परिवर्तित स्वरूपको कोरोनाका कारण गत वर्ष अप्रिल १२ सम्ममा देखिएको संक्रमणको गति भन्दा अहिलेको अवस्था चिन्ताजनक रहेको बताइएको छ । त्यहाँका संक्रामक रोग विशेषज्ञ एन्ड्रिउ हेवार्डले संक्रमणका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार