भारतमा आजदेखि नागरिकलाई कोरोनाविरुद्धको खोप दिइने

दक्षिणी छिमेकी मुलुक भारतको सरकारले शनिबारदेखि आफ्ना नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ। उक्त अभियानको प्रधानमन्त्री नरेन्द्र मोदीले १० बजेर ३० मिनेटमा सुरुवात गर्दैछन् ।

खोप अभियानलाई ‘टीकाकरण अभियान’ भनिएको छ । तीन हजार ६ वटा खोप केन्द्रबाट आज ३ लाख स्वास्थ्यकर्मीलाई खोप लगाउने तयारी पूरा भएको छ । हरेक खोप केन्द्रमा ३ सय स्वास्थ्यकर्मीलाई खोप लगाइने तयारी भएको भारतीय सञ्चारमाध्यमले खबर लेखेको छ ।



पहिलो चरणमा अग्रमोर्चामा रहेका चिकित्सकलाई खोप लगाएपछि सर्वसाधारणलाई पनि खोप दिइनेछ। खोप लगाउन देशका ७ सय जिल्लामा ३० करोड जनशक्ति परिचालन गरिएको छ।

भारतमा अस्ट्राजेनिकासँग मिलेर घरेलु कम्पनी सेरम इन्स्टिच्युटले तयार गरेको कोभिडशिल्ड र भारत बायोटेकले तयार गरेको कोभ्याक्सिन खोप प्रयोगमा ल्याउन लागिएको हो । पहिलो खोप लगाएको २८ दिनमा दोस्रो खोप लगाउनुपर्ने त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतले पहिलो चरणमा ३० करोड मानिसलाई कोरोना विरूद्धको खोप लगाउने योजना अघि बढाएको छ। यसका लागि कोभिडशिल्ड १० लाख र कोभ्याक्सिन ५५ लाख डोज खरिद गरेको बताइएको छ । १ अर्ब ३० करोड जनसंख्या रहेको भारत कोरोना महामारीबाट सबैभन्दा प्रभावित मुलुकको सूचीको दोस्रो स्थानमा छ। त्यहाँ अहिलेसम्म १ करोड ५ लाखभन्दा धेरै मानिस संक्रमित भइसकेका छन्‌ भने १ लाख ५२ हजार जनाको ज्यान गइसकेको छ।

सम्बन्धित समाचार