दोस्रो चरणको खोप ल्याउने तयारी पूरा

सरकारले दोस्रो चरणमा कोरोनाविरुद्धको खोप ल्याउने प्रक्रिया अगाडि बढाएको छ । भारतबाट दोस्रो चरणको खोप ल्याउन यसअघि नै पत्र पठाइसकेको र छिट्टै दोस्रो चरणको खोप नेपाल आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिर अधिकारीले दोस्रो चरणको खोप ल्याउन सबै तयारी पूरा भएको र अब खोप ल्याउने र लगाउने काम मात्रै बाँकी रहेको बताए। उनका अनुसार नेपाल सरकारले भारतसँग खोप खरिदसँगै अनुदानमा पनि खोप उपलब्ध गराउन अनुरोध गरेको छ । तर, भारतले अब खोप अनुदानमा पठाउने नपठाउने निश्चित भइसकेको छैन ।



खरिद गरिने खोपको मूल्यसमेत निर्धारण हुन बाँकी रहेको डाक्टर समिर अधिकारीले बताए । यस्तै, पहिलो चरण अन्तर्गतको खोप आज पनि वितरण गरिँदै छ । हिजो प्राविधिक कारणले खोप पुर्‍याउन नसकिएका जिल्लामा आज खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हिजो प्रदेश १ का १४ जिल्लामध्ये ८ जिल्लामा मात्रै खोप लगाउन शुरु गरिएको थियो । यस्तै, लुम्बिनी प्रदेशका केही जिल्ला र सुदूरपश्चिमको बाजुरामा पनि हिजो खोप लगाउन शुरु भएको थिएन ।

आज देशका ७७ वटै जिल्लाका खोप केन्द्रबाट खोप लगाउन शुरु हुने स्वास्थ्य मन्त्रालयका सह(प्रवक्ता डाक्टर समिर अधिकारीले बताउनुभयो । उहाँकाअनुसार हिजो खोप लगाउन बाँकी रहेका लक्षित वर्गलाई आज पनि खोप दिइने छ ।

हिजो ९ हजार ८४ जनाले विभिन्न खोप केन्द्रबाट खोप लगाएका थिए । भारतले गएको ८ गते नेपाललाई कोरोनाविरुद्धको खोपको १० लाख डोज हस्तान्तरण गरेको थियो । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरी भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामको १० लाख खोप भारतले हस्तान्तरण गरेको थियो ।

सम्बन्धित समाचार