नेपालमा ४६ हजारभन्दा धेरैले लगाए कोरोनाविरुद्धको खोप, केही व्यक्तिमा देखियाे सामान्य असर

नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको तेस्रो दिन शुक्रबारसम्म ४६ हजार एक सय ९७ जनाले खोप लगाएका छन् । ७७ जिल्लाका एक सय ६९ वटा खोप केन्द्रबाट खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

अभियानको पहिलो दिन ६४ जिल्लामा खोप लगाइएकामा शुक्रबार ७७ वटै जिल्लामा खोप लगाइएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार तेस्रो दिन शुक्रबार सम्म प्रदेश १ मा सात हजार तीन सय ६९ जनाले खोप लगाए भने प्रदेश २ मा चार हजार ६ सय ५० र वाग्मतीमा १५ हजार ६ सय ४१ जनाले खोप लगाएका छन् ।



त्यस्तै गण्डकीमा सात हजार एक सय ५३, लुम्बिनीमा चार हजार ६ सय ३५, कर्णालीमा २९ सय ६६ र सूदूरपश्चिममा तीन हजार सात सय ८३ जनाले खोप लगाएका छन् । खोप लगाएका केही व्यक्तिमा सामान्य असर देखिएको भए पनि उनीहरूमा केही समयमा असर हराएको र जटिल खालको असर अहिलेसम्म कसैलाई नदेखिएको प्रवक्ता गौतमले बताए ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप सरकारले केही दिनअघि ल्याएको थियो । आउँदो १० दिनभित्र चार लाख ३० हजार जनालाई पहिलो चरणको खोप दिने सरकारको योजना रहेको छ ।

पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवकलाई खोप दिइनेछ ।

साथै शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अरु कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई पहिलो चरणमा खोप दिइने मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार