नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ माघ ।
उपत्यकामा बर्डफ्लु देखिएपछि कुखुराको मासुको मूल्य घटेको छ । पशुसेवा विभागले शुक्रबार काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ७ साङ्लेखोला, फुटुङमा नमूना परीक्षण गर्दा किसानले पालेका हाँस र टर्कीमा शनिबार बर्डफ्लु संक्रमण भएको पुष्टि भएको थियो ।
बन्दाबन्दी खुलेसँगै निरन्तर रूपमा बढिरहेको कुखुराको मासुको मूल्य प्रतिकिलो ३ सय ७० रुपैयाँसम्म पुगेको थियो । शनिबार तारकेश्वरमा बर्डफ्लुको संक्रमण देखिएसँगै कुखुराको मासुको मूल्य घट्दै प्रतिकिलो ३ सय ५० रुपैयाँमा झरेको बताइएको छ ।
मासु व्यवसायी संघले भने मासुको मूल्य घट्नुमा बर्डफ्लुमात्रै कारण नभएको दाबी गरेको छ । संघका अध्यक्ष जंगबहादुर बीसीले अहिलेसम्म कुखुरामा संक्रमण नदेखिएकाले उपभोक्ताहरूलाई नआत्तिन आग्रह गरेका छन् । यो रोग मानिसँग सम्बद्ध नभई पक्षीजन्य रोग भएकाले आत्तिहाल्नुपर्ने अवस्था नभएको उनले बताए ।
मासुको मूल्य घटेसँगै कुखुरापालक किसानहरू चिन्तित भएका छन् । कोरोना महामारीका कारण लामो समयसम्म थला परेको पोल्ट्री व्यवसायले लय समातिरहेका बेला बर्डफ्लु भित्रिनु किसानका लागि थप चिन्ताको विषय बनेको सरोकारवालाहरूले बताएका छन् । कुखुरामा संक्रमण पुष्टि भइनसेकाले किसानहरूलाई हतास नहुन पोल्ट्री व्यवसायी महासंघले आग्रह गरेको छ ।