नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ माघ ।
बार्सिलोना क्लबका सुपरस्टार लियोनेल मेस्सीले आइतवार दशका सर्वोत्कृष्ट पुरुष खेलाडीको पुरस्कार पाएका छन् । दी इन्टरनेसनल फेडरेसन अफ फूटबल हिस्ट्री यान्ड स्ट्याटिस्टिक्सले मेस्सीलाई शीर्ष स्थानमा राखेको हो ।
यस संस्थाले संसारभरिका १५० देशहरूले विगत एक दशकको सर्वोत्कृष्ट खेलाडीका लागि एक सर्वेक्षण गरेको थियो । उसले प्रत्येक महादेशको उत्कृष्ट खेलाडी पनि रोजेको छ । रोनाल्डोले यूईएफए क्षेत्रको उत्कृष्ट खेलाडीको पुरस्कार पाए भने मेस्सी संसारकै उत्कृष्ट खेलाडी घोषणा गरिए ।
मेस्सीले विगत १० वर्षमा ६ पटक ला लिगा उपाधि, पाँचपटक कोपा देल रे, दुईवटा च्याम्पियन्स लीग, चारवटा बालून दोर जितेका छन् । अहिलेको ला लिगा सीजनमा बार्सिलोनाले संघर्ष गरिरहेको भए पनि उनको प्रदर्शन उम्दा छ ।
उनले ला लिगामा १२ गोल र दुईवटा असिस्ट गरेका छन् । अनि च्याम्पियन्स लीगका चार खेलमा तीन गोल र दुई असिस्ट उनले गरिसकेका छन् । अन्य शीर्ष खेलाडीमा नेयमार, सर्जिओ रामोस, म्यानुएल नोयर र जियानलुगी बुफोन लगायत छन् ।