कमला मुस्कान
काठमाडौं, १ फागुन ।
झोलुङ्गे पुलको बीचमा
धेरैबेरसम्म गाला फुलाउँदै
प्वाल परेको गोजीमा
दुबै हात छिराएर
एकोहोरो एकै दिशातिर
फर्किएको मुन्टो
गलेर भुतुक्क भयो…
ऐया…
दायाँ हात गर्दनमा राखेर
अनि टाउको हल्लाएँ ।
फेरि बकबक सुरु भो…
कति गर्नुपर्ने बकबक
मुख गलेन…?
पाकेको टमाटर जस्तै
राता राता अनि ठूला आँखा पार्दै म झर्किएँ ।
ऊ खित्का छोडेर हाँस्यो र भन्यो–
यो बकबक हैन माया !
मेरो भावना हो ।
मैले तिमीलाई माया गरेँ,
मन पराएँ, आफ्नै ठानेँ
अनि त मनका कुरा
तिमीसँग पोख्दैछु प्रिये !
ऊ मेरो नजिक आयो
अनि मेरा दुवै हात समाएर
निधारमा चुम्बन ग¥यो,
रिसले घण्टौँ नबोलेका मेरा ओठहरू
उसका कुराले फिस्स हाँसे
अनि…
थाहैनपाई मेरो शरीर
उसको अँगालोमा बाँधिएछ ।
हरेक शनिबारका
पे्रमिल घुमफिरहरू
कहिले गोदावरी त कहिले नगरकोट
कहिले कालिन्चोक त कहिले सेतो गुम्बा
घुम्दै घण्टौँ बिताएका ती पलहरू
र, मिलनका ती क्षणहरू
आज विवाहपछिको
पचास वर्षसम्म पनि
उस्तै र ताजा लाग्छन् ।
दाँत झरे, कपाल फुले
बैँस ढल्यो, अनि
नातिनातिना हुर्किए
तर पनि हाम्रो मिलन
एकैनाशले
खोलाको सङ्लो पानीझैँ
कलकल र झरझर बगिरहेको छ
निरन्तर ।
आजको हाम्रो ठम्याइ
माया, प्रेम र स्नेह भन्ने कुरा
मन सफा रहुन्जेल र
आपसमा विश्वास रहुन्जेल,
सँधै उही र उस्तै रहने रहेछ ।
प्रेमका लागि कुनै दिनविशेष
र समय छुट्याउनु
मायाप्रतिको साँघुरोपन हो,
प्रेमप्रतिको सङ्कीर्णता हो,
यसले कहिलेकाहीं–
सच्चा मन र सुन्दर जीवनलाई
अँध्यारो पनि बनाउँन सक्छ ।