सर्वोच्च अदालतमा यस्ताे लिखित जवाफ दर्ता गराएर फर्किए प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओली सर्वच्च आज अदालत पुगेका छन् । उनीविरुद्ध परेको अदालतको अवहेलनाको मुद्दामा लिखित जवाफ दिन पौने १२ बजे ओली अदालत पुगेका हुन्। अदालत पुगेको १५ मिनेटमा जवाफ बुझाएर ओली फर्किएका छन्।

लिखित जवाफमा ओलीले कुनै मुद्दाको पक्षले मुद्दाको सम्बन्धमा व्यक्त गरेको कुरालाई अदालतको अवहेलनाको विषय बनाउन नमिल्ने जिकिर गरेका छन् । उनले आफूले जहिले पनि आदरार्थी भाषाको प्रयोग गरेको भन्दै आफूबाट अदालतको अवहेलना भएको भन्ने दाबी नै अनुचित र खारेजभागी रहेको जिकिर गरेका छन् ।



उनी ११ बजेर ४६ मिनेट जाँदा अदालत पुगेका थिए भने फर्किँदा ११ बजेर ५९ मिनेट गएको थियो। उनीविरुद्ध माघ १३ गते अधिवक्ता कुमार शर्मा आचार्यले मुद्दा दायर गरेका थिए। प्रधानमन्त्रीले अदालतको अवहेलना हुने गरी अभिव्यक्ति दिएको भन्दै उनले मुद्दा दर्ता गराएका थिए। माघ १५ गते न्यायाधीश डाक्टर मनोज शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई एक साताभित्र आफै उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएका थिए।

इजलासले वारेस अनुमति नदिएका कारण प्रधानमन्त्री आफै उपस्थित हुन परेको हो। सर्वोच्च अदालतदेखि प्रधानमन्त्री कार्यालयको दुरी २ सय मिटरभन्दा कम भए पनि ढिलोगरी पत्र पुगेको भन्दै आजमात्र प्रधानमन्त्री अदालतमा उपस्थित भएका हुन्। प्रधानमन्त्रीको कार्यालयले गएको आइतबारमात्र पत्र बुझेको हो।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ र अदालतीय प्रकृयालाई ‘तमासा’ भन्दै व्यङ्ग गरेका थिए प्रधानमन्त्री ओलीले। यही इजलासले चार पूर्व प्रधान न्यायाधीशलाई पनि यही प्रकृतिको मुद्दामा लिखित जवाफ मागेको थियो। उनीहरुले अदालतमा उपस्थित भएर बयान दिइसकेका छन्।

सम्बन्धित समाचार