कांग्रेस महाधिवेशन भदौ ७ देखि काठमाडौंमा हुने, यस्तो छ अधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले १४ औं महाधिवेशन भदौमा गर्ने निर्णय गरेको छ। विहीबारको केन्द्रीय समितिले भदौ ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यसअघि फागुन ७ देखि महाधिवेशन गर्ने कार्यतालिका थियो। उक्त मितिमा महाधिवेशन संभव नभएपछि कांग्रेसले नयाँ मिति तय गरेको छ। केही जिल्लामा समायोजनका काम सकिएका छैनन्। अहिलेसम्म अर्घाखाँची जिल्लाले मात्रै क्रियाशील सदस्यताको टुंगो लगाएको छ।



यस्तै कांग्रेसले १३ औं महाधिवेशनबाट आएका सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल छ महिना थप गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यसमितिले कार्यकाल छ महिना थप गर्न संविधानको सहारा लिएको छ। कांग्रेसको विधानमा चार वर्षमा महाधिवेशन हुनुपर्ने व्यवस्था छ। तर विशेष परिस्थितिमा एक वर्ष थप गर्न विधानले छेक्दैन।

महाधिवेशन भएको पाँच वर्ष भए पनि कांग्रेसले नयाँ महाधिवेशन गर्न नसकेको हो। संविधानमा भएको व्यवस्थाअनुसार पार्टीको विधानमा छ महिना थप गरेर महाधिवेशनको नयाँ मिति तोकिएको छ।

यस्तो छ अधिवेशन कार्यतालिका:

क, गाउँ, नगर वडा अधिवेशन: २०७८ असार ५ गते
ख, गाउँ, नगरपालिका अधिवेशन: २०७८ असार ७ गते
ग, प्रदेश सभा क्षेत्रीय अधिवेशन: २०७८ साउन १ गते
घ, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन (एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन) २०७८ साउन ३ गते
ङ, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन: २०७८ साउन ६ गते
च, प्रदेश अधिवेशन: २०७८ साउन १० र ११ गते
छ, केन्द्रीय महाधिवेशन: २०७८ भदौ ७, ८, ९ र १० काठमाडौं।

सम्बन्धित समाचार