प्रचण्ड–नेपाल समूहमा पनि भागबण्डाको विवाद सुरू, महासचिवका आकांक्षी धेरै हुँदा नेतृत्वलाई सकस

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहमा पनि पदको लागि विवाद सुरू भएको छ । दोस्रो तहका नेताहरू महासचिव बन्न दौडधुप सुरू गरेपछि नेतृत्वलाई सकस परेको हो । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल भने महासचिवको विवाद पेचिलो बन्ने देखिएपछि तत्काल यस विषयमा हात नै नहाल्ने मुडमा देखिएका छन् । अदालतले संसद् पुर्नस्थापना नगर्ने र निर्वाचनले नेकपाको आधिकारिकता आफूहरूलाई दिएको खण्डमा निर्वाचनमा जाने योजनामा रहेको यो समूह महासचिव चयन निर्वाचनपछि मात्र गर्ने योजनामा छ ।

तर दोस्रो तहका नेताहरूले भने महासचिव जस्तो महात्वपूर्ण पदलाई पेण्डिङमा राख्न नहुने भन्दै तत्काल चयन गर्न नेतृत्वलाई दवाव दिने गरेका छन् । प्रचण्ड र माधव नेपाल दुवैलाई निकट नेताहरूले महासचिव आफूनिकटका नेतालाई राख्न सुझाव दिने गरेका छन् । हाल प्रधानमन्त्री ओली र महासचिव विष्णु पौडेल एउटै समूहमा रहेकोले निर्वाचन आयोग अफ्ठ्यारोमा पर्ने सङ्केत देखिएकोतर्फ इङ्गित गर्दै प्रचण्ड र नेपाललाई निकटकाले आफ्नै फेवरको मान्छेलाई महासचिव बनाउन दबाब दिएका हुन् ।



प्रतिनिधि सभा विघटनसँगै बसेको पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्षमा माधवकुमार नेपाल चयन गर्ने निर्णय गरे पनि महासचिव भने चयन गर्न सकेको थिएन । महासचिव हुन तत्कालीन नेकपा एमालेबाट सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र तत्कालीन माओवादी केन्द्रबाट वर्षमान पुन, जर्नादन शर्माले दाबी प्रस्तुत गरेपछि प्रचण्ड र नेपाल महासचिव छनौटमा तत्कालका लागि पछि हटेका थिए । त्यसयता महासचिवको काम भने सुरेन्द्र पाण्डेले संहाल्दै आएका छन् ।

ओली समूहलाई वरियताकै चिन्ता
प्रचण्ड माधव समूहले महासचिव चयन गर्न नसकेजस्तै ओली समूहले भने नेताहरूको वरियता तोक्न सकेको छैन । ओलीले गृहमन्त्री रामबहादुर थापालाई दोस्रो वरियता दिने भन्दै आफ्नो समूहमा ल्याएपछि पूर्वएमाले नेताहरू ओलीसँग रूष्ट भएका थिए । तर ओलीले उनीहरूलाई सम्झाउँदै बोलेका सबै कुरा पूरा गर्नुपर्छ भन्ने छैन भन्दै वरियतामा कसैलाई अन्याय नगर्ने बताएको स्रोत बताउँछ । ओलीले दोस्रो वरियता नदिने देखेपछि थापा उनीसँग रूष्ट छन् । उनले पूर्वमाओवादीका सबै नेता लिएर प्रचण्ड समूहमा जाने चेतावनी ओलीलाई दिइसकेका छन् ।

ओली भने अदालतले संसद् पुर्नस्थापना नगरेमा थापालाई भाउ नदिने पक्षमा देखिन्छन् । संसद् पुर्नस्थापना भएमा र नेकपा विवाद समाधान नभएमा स्थायी समिति र सचिवालयमा बहुमत जुटाउन पनि पूर्वमाओवादीहरूको साथ चाहिने ओलीको बुझाइ छ । संसद् पुर्नस्थापना नभएमा पूर्वमाओवादी नेताहरू ओलीको खेदाइमा पर्ने निश्चित रहेको नाम नबताउने शर्तमा ओली समूहकै एक नेताले बताए ।

 

सम्बन्धित समाचार