प्रदेश २ का प्रदेश प्रमुख पदमुक्त, प्रदेश प्रमुखमा राजेश झा नियुक्त

प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ प्रमुख परियारलाई पदमुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेश प्रमुख परियारलाई नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेको जनाइएको छ ।



प्रदेश २ को प्रदेश प्रमुखमा भने राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आजै रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।

मधेशवाणी साप्ताहिक पत्रिकाका सम्पादक समेत रहेका झा मधेश मिडिया हाउसका सञ्चालक हुन् । पत्रकारिता जगतमा उनलाई ‘राजेश अहिराज’ नामले चिनिन्छ ।

रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ३ सुन्दरपुरका झाले मधेश मामिलामा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । कानून विषयमा स्नातक गरेका उनले अधिवक्ताको लाइसेन्स समेत लिएका छन् ।

झाले पछिल्लो समय सामाजिक सञ्जालमा ओलीको प्रशंसा तथा नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपालको चर्को आलोचना गर्ने गर्छन् ।

 

सम्बन्धित समाचार