नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ फागुन ।


बार्दलीको कुनामा रहेका
ठूलो गमलाहरूमा
खङ्ग्रङ्ग सुकेका फूलका पातहरू
टिपेर गोडमेलपश्चात्
चिसो पानीका थोपाथोपा
गुलाबका जराहरू
खुकुल्याएर छर्किदै गर्दा….
मेरो मन चस्कियो
अनि…
अत्तालिँदै यी आँखाहरू
सडकका गल्लीहरूमा
छट्पटिन थाले ।
पोलिसका रङ्गीन धर्साहरू
लपक्क पोतेर रङ्ग्याइएका
लामा लामा औँलाका नङ्ग्राहरू
सुस्त गतिमा सुम्सुम्याउँदै
‘माया….
उमेरले नेठो काट्छ कि अब…
लगन गाँठो कसौँ न…!’
भर्खर चिल्ल्याएर
बररर..उम्रिएका
च्युँडो मुनिको मसिनो
अनि खस्रो दाह्री
दायाँ हातका औँलाहरूले मुसार्दै
उसले भन्यो ।
उसका ती शब्दहरूले
यो मन
पानी पानी भयो र,
चङ्गाझैँ शरीर फुरूङ्ग उडेर
मायाको संसारमा हराउन थाल्यो ।
सफा र स्वच्छ मन
निःस्वार्थ प्रेममा बाँधियो…
ऊ..म अनि रङ्गीन संसार
आनन्दित मुद्रामा
सानो सपना सजाउन थाल्यौं ।
बिहानीपख, उज्यालो मौसम
वसन्तपुरका मठमन्दिरहरूमा
ब्यायाम र मर्निङ्ग वाकको घुइँचोमा
म पनि अति व्यस्त देखिएँ
एक्सरसाइजमा मस्त मानव समूह
गुडुडुडु अर्कोतिर फालहान्दै दौडिए
निमेषभरमै मान्छेको चापले
भरिएको दरबार क्षेत्र…
देखेर म झस्किएँ
अनि सास दबाएर कुदेँ….
र त्यही मानव सागरमा मिसिएँ ।
हातमा हत्कडी र दुई चार महिलाको बीचमा
पुलिसको पछि लागेर हिँडेको मान्छे
पर पुगेर पुलुक्क पछाडि फर्कियो
अनि मलाई हेर्या ।
त्यो हेराइले
यो मन पिरोल्यो र
म आत्तिएँ…
अरू कोही नभई त्यो मान्छे
मेरो प्रेमी पो रहेछ !
हा..हा…हा…
एउटा निर्मम पीडा
कायल र घायल आँसुको भेलमा
म उसको कारण डुबेँ ।
ऊ कारागारमा हरायो
र, मेरो माया उसको मनबाट
समयको सागरमा डुबेर
सायद बिलायो होला…!
पेटको कोपिलो हुर्कियो
म सामाजिक अपहेलनाको शिकार भएँ..
आज अर्धचेतन मुद्रामा
यी आँखाहरू
बिसौँ वर्षपछि पनि
उनकै बाटो हेर्छन्
अनि,
वसन्तपुरका गल्लीहरूमा
बारम्बार डुलिरहन्छन् ।
