‘दुई सय प्रतिशत ढुक्क हुनुहोस्, संसद् पुर्नस्थापना हुँदैन’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा संविधानसभा सभामुख सुवासचन्द्र नेम्वाङले शनिवारको विराटनगरको सभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले केही महत्त्वपूर्ण सूचना सुनाउन चाहेको बताएका छन् । उनले संसद् पुर्नस्थापना नहुनेमा प्रधानमन्त्री ओलीले दुई सय प्रतिशत ढुक्क हुन भनेको बताए ।

‘प्रधानमन्त्रीज्यू विराटनगर आउनुभयो, हामी सबै स्वागत गर्न विमानस्थल गयौं । सदाझै उज्यालो अनुहार, केही समाचार सुनाउ–सुनाउ झै अनुहार थियो तर हामीले भनिहाल्नुभएन,’ उनले भने, ‘यो भव्य सभामा हामीलाई कुनै सूचना सुनाउन चाहनुभएको छ । कुनै महत्त्वपूर्ण सूचना हामीलाई सुनाउनुहुन्छ झै लागेको छ । के सूचना सुनाउनुहुन्छ भनेर पर्खिरहेको छु ।’



नेता नेम्वाङले जनताले वैशाख १७ र २७ गतेको निर्वाचन अनुमोदन गरिसकेका दाबी गरे । ‘निर्वाचनमा जाने भनेर जनताले फैसला गरिसके । सम्मानित सर्वोच्च अदालतको फैसला हामी कुरिरहेका छौं,’ उनले भने ।

कार्यक्रममा बोल्दै १ नम्बर प्रदेशका मुख्यमन्त्री तथा नेकपा ओली समूहका नेता शेरधन राईले खुमलटारमा दर्ता भएको दाहाल, नेपाल, खनाल कम्पनीले मुलुकलाई अँध्यारो सुरुङतिर लगेको आरोप लगाएका छन् ।

‘खुमलटारमा दर्ता भएको दाहाल, नेपाल, खनाल कम्पनीले देशलाई अराजकतातिर धकेल्न खोज्यो, राष्ट्रपतिलाई हटाएर, प्रधानमन्त्री र मुख्यमन्त्रीलाई अपदस्त गरेर मुलुक कब्जा गर्ने कित्ता देखापरेको छ,’ उनले भने, ‘यो कित्ताले अँध्यारो बाटो रोजेको छ, मुलुकलाई अँध्यारो सुरुङतिर लगेको छ ।’

‘हाम्रो कित्ता राष्ट्रियता र राष्ट्रवादी धारको नेतृत्वको केपी ओलीले गरिराख्नुभएको छ । हाम्रो कित्ता सुशासन, विकास र समृद्धिको कित्ता हो,’ उनले भने, ‘यो दुई कित्ताको बीचमा लडाइँ शुरू भएको छ ।’

नेकपा प्रचण्ड–नेपाल समूहले विकास र समृद्धिको यात्रामा भाँजो हाल्ने काम गरेको समेत उनले बताए ।

सम्बन्धित समाचार