नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले पुष्पकमल दाहाल प्रचण्ड देखेर आफूलाई माया लाग्ने गरेको बताएका छन् । विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले प्रचण्ड गलत बाटोमा हिँडेको आरोप लगाए । ‘पहिला उहाँसँग वैद्य हुनुहुन्थ्यो, उहाँले छाड्नुभयो डाक्टर लिनुभयो, डाक्टरले छाडेपछि अहिले झाँक्री लिनुभएको छ, उहाँलाई झाँक्रीले बचाउन सक्दैन,’ उनले भने ।
विकासमा व्यवधान खडा गरेकाले प्रचण्डले अब नेपालको राजनीतिमा सफलता पाउन नसक्ने ओलीले बताए । ‘सिद्धिसकेका प्रचण्डलाई मैले फेरि एउटा जुरो हालिदिएको थिएँ, ठूलै जुरो हालिदिएको थियो । मैले अलिकति सिङ पनि हालिदिएको थिएँ । लामा सिङ भएपछि उहाँमा अहंकार बढ्यो,’ उनले भने, ‘उहाँको नियति असफलताबाहेक केही होइन ।’
उनले जनसहभागिता कस्तो हुन्छ भन्ने जान्न विराटनगरको सभा हेर्न पनि प्रचण्ड नेपाल समूहलाई चुनौति दिए ।
उनले भोलि भारतबाट १० लाख डोज कोरोना खोप ल्याउन लागेको बताए । कोरोना भाइरस विरुद्धको खोप जनतालाई दिने अभियान तीव्र पारिएको बताए । ‘भारतबाट भोलि १० लाख डोज कोरोना खोप ल्याउँदैछौं, केही दिनपछि चीनबाट ल्याउँदैछौं, केही दिनपछि फेरि भारतबाट ल्याउँदैछौं,’ उनले भने ।
