नवकान्तिपुर संवाददाता
काठमाडौं, १० फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा नेता पशुपतिसमशेर राणा, जनता समाजवादी पार्टीको पूर्वराजपा समूहका नेता महन्थ ठाकुरहरूलाई अलिक परसम्मको यात्रा सँगै गराउने के होला रोडम्याप ! अनुमान गरौँ त, कसले गर्दै होला यसनिम्ति पहल ?
जसपा केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट्न गएको एउटा भारतीय टोलीले यही आशय देखाउनु र उहाँले शेरबहादुरसँग कुरा गर्दा उही लवजमा पेश हुनुले पनि भित्री चलखेलको अनुमान राजनीतिक बृत्तमा व्यापक बनेको छ । बाबुरामले भने, ‘तपाईं प्रधानमन्त्री बन्नै खोजेको हो भने प्रचण्ड–माधवको पक्षबाट बन्नुस् न, किन केपीतिर घिस्रिनुभएको ?’
तर, शेरबहादुरले केपीतिरै मोह भएजस्तो हाउभाउ देखाए । उनी वैशाखमा चुनाव हुँदैन भन्नेमा ढुक्कमात्रै हैन, त्यसपछिको प्रधानमन्त्री आफैँ हो भन्नेमा पनि त्यत्तिकै विश्वस्त हुनुहुन्छ । र, आफ्नै नेतृत्वमा मंसिरमा चुनाव गराउने मनशाय बुझिन्छ । जे–जसरी पनि सत्तामा नगई नछाड्ने उहाँको मनस्थिति बुझेपछि भावी रणनीति तय गर्न क्षेत्रपाटीस्थित प्रकाशमान सिंहको निवासमा रातिराति इतर खेमाको इमर्जेन्सी बैठक बस्न थालेको छ । कृष्ण सिटौला, रामचन्द्र पौडेल, रामशरण महत, अर्जुननरसिंह केसीलगायत ८-९ जनाको यी भेलामा सहभागिता रहन्छ । अर्कातिर, जसपाभित्र बाबुराम, उपेन्द्र यादव, अशोक राईहरूको पूर्व वाम समूह प्रचण्ड–माधवपक्षीय आन्दोलनको मोर्चाबन्दीमा जान तयार भएको अवस्था छ ।
यदि त्यस्तो भयो र त्यो मोर्चाबन्दीमा पूर्वराजपा समूह सरिक भएन भने मधेसवादी दल एकातिर, उपेन्द्रसहित बाबुरामहरू अर्कातिर हुने सम्भावना छ । र, प्रकारान्तरमा त्यही मोर्चाबन्दी प्रचण्ड–माधव समूह नेतृत्वको नेकपासँग एकतामा रुपान्तरित हुने सम्भावना छ पनि भनिँदैछ, भनेर आजको जनआस्थामा खबर छ ।
