नवकान्तिपुर संवाददाता
काठमाडौं, १० फागुन ।

नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशको आन्तरिक विषयमा प्रचण्डले विदेशीलाई गुर्हानु दुर्भाग्य भएको बताएका छन्। नेकपा ओली समूहले सदरमुकाम तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले देशको आन्तरिक विषयमा विदेशी शक्तिलाई प्रचण्डले गुर्हार्ने गरेकाले त्यो नै गलत भएको बताएका छन्।
प्रचण्डले देशमा कहिल्यै स्थिरता नचाहेको भन्दै मन्त्री ज्ञवालीले प्रचण्डले देशलाई अस्थिरता र द्वन्द्वतर्फ धकेल्न खोजेको आरोप लगाए। प्रचण्डले गुटको राजनीति गरेका कारण अहिले यो अवस्था आएको ज्ञवालीको तर्क थियो। तीन वर्षको समय अवधिमा सचिवालयका कुल ७५ वटा बैठक बस्दा प्रचण्ड सधैं पद र कुर्सीमा मात्रै केन्द्रित रहेकाले देश र जनताको हितमा काम गर्ने वातावरण नै नभएको मन्त्री ज्ञवालीले बताए।
अर्को एक फरक प्रसंगमा मन्त्री ज्ञवालीले नेकपा विप्लव समूहसँग सरकारले वार्ताको अन्तिम तयारी गरिरहेको बताएका छन्। देशमा हिंसा त्यागेर आउनेसँग सरकारले वार्ताको वातावरण तयार गर्ने उनको दाबी थियो। यस्तै मन्त्री ज्ञवालीले पूर्वलडाकु, द्वन्द्वपीडित, घाइते लगायतको व्यवस्थापन गर्ने गरी सरकारले काम गरिरहेको पनि दाबी गरे।
