नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ फागुन ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन प्रतिनिधि सभा विघटन मुद्दा आज देखि हेर्दाहेर्दैमा जाने भएको छ। संसद् विघटनविरुद्ध परेका रिटका पक्ष र विपक्षमा बहस गरेका अधिवक्तालाई बहस नोट बुझाउन हिजो सोमबारसम्मको समय दिएको इजलासले आजदेखि मुद्दा हेर्दाहेर्दैमा राखेर जुनसुकै बेला फैसला हुन सक्ने जानकारी गराएको हो।
संवैधानिक इजलासमा गत माघ ४ देखि भएको बहस गत शुक्रबार सकिएको थियो। संसद विघटनविरुद्ध परेका रिटबारे सुनुवाइ भने पुस ८ गते सुरु भएको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले संविधानको धारा १३७ (३) बमोजिम मुद्दा संवैधानिक इजलासमा पेस गर्न आदेश दिएको थियो।
त्यसपछि संसद् विघटन मुद्दाको बहस संवैधानिक इजलासमा भएको थियो।
