मिश्रलाई संग्रौलाको प्रश्न -‘आउँदो चुनावमा एक सिट जित्न सक्छाैं ?’

विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले आफू सरकारमा पुग्नासाथ प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालाई जेल हाल्ने भनी दिएको अभिव्यक्तिको लेखक एवं विश्लेषक खगेन्द्र संग्रौलाले आलोचना गरेका छन्।

संग्रौलाले मिश्रलाई आफ्नो हैसियतभन्दा ठूलो कुरा गरेको नसुहाउनेसमेत सुझाव दिएका छन्। ट्वीटरमा ट्वीट गर्दै संग्रौलाले केपी, प्रचण्ड, देउवा जेल पुगुन् कि नपुगुन्, त्यो आफ्नो चासोको विषय नभएको तर एक सिट पनि नजित्ने पार्टीले सिंहको जस्तो धाक दिएको भन्दै आलोचना गरेका हुन्।



संग्रौलाले लेखेका छन् – ‘विवेकशील साझाका अभिनेता रवीन्द्र मिश्रले आफू सरकारमा पुग्नासाथ केपी, पीके र देउवालाई जेल पुर्‍याउने चेतावनी दिएछन्। पुगुन् र पुर्‍याउन्, यसमा मलाई न हर्ष न बिस्मात। मेरो सानो जिज्ञासा, अबको आम चुनावमा श्री मिश्रको पार्टीले प्रत्यक्षमा एक सिट त जित्ला ? हुती मुसाको, हुङ्कार सिङ्गको !’

मिश्रले सोमबार आफ्नो पार्टी सरकारको नेतृत्वमा पुग्नासाथ अहिलेका प्रमुख पार्टीका नेतृत्वहरुलाई जेलमा पुर्‍याउने चेतावनी दिएका थिए। काठमाडौँमा प्रतिनिधि सभा विघटनविरुद्धको विरोध सभालाई सम्बोधन गर्दै मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई नख्खु जेलमा पुर्‍याउने चेतावनी दिएका थिए।

सम्बन्धित समाचार