सर्वोच्च अदालतको फैसलाले ट्रम्पलाई गम्भीर धक्का, वित्तिय विवरण बुझाउनु पर्ने

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्पूर्ण वित्तिय विवरण अनुसन्धानका लागि न्यूयोर्कका अनुसन्धानकर्तालाई बुझाउनु पर्ने भएको छ। करछली तथा अरु वित्तिय अपराध भएको हुन सक्ने आशंकामा ट्रम्पमाथि न्यूर्योकको म्यानहटनमा अनुसन्धान भइरहेको छ।

ट्रम्पले अनुसन्धानकर्तालाई आफ्नो कर तथा अरु वित्तिय विवरण बुझाउन अस्वीकार गर्दै आएका थिए। तर सर्वोच्च अदालतले सोमबार कर तथा अरु वित्तिय विवरण न्यूयोर्कका अनुसन्धानकर्तालाई बुझाउन ट्रम्पलाई आदेश दिएको हो।



ट्रम्पले आफ्नो करसहितका वित्तिय विवरण सार्वजनिक गर्न विगत धेरै वर्षदेखि अस्वीकार गर्दै आएका छन्। उनले चुनावी अभियानको क्रममा पनि अडिट हुँदै गरेको भन्दै वित्तिय विवरण सम्बन्धी विषय टारेका थिए। तल्ला अदालतले आफू अनुकुल आदेश नदिएपछि सर्वोच्च पुगेका ट्रम्प त्यहाँ पनि विफल भएका हुन्।

सर्वोच्च आदेश लगत्तै ट्रम्पले वक्तव्य जारी गरेर गम्भीर आलोचना गरेका छन्। उनैले मनोनित गरेका तीन न्यायाधीश भएको सर्वोच्च अदालतले करसहितका वित्तिय विवरण अनुसन्धानकर्तालाई बुझाउन आदेश दिएको हो।

सर्वोच्चको आदेश अनुसार ट्रम्पको वित्तिय विवरण सर्वासाधारणका लागि तत्काल साझा गर्ने बाध्यता छैन। ट्रम्पको करसहितका वित्तिय विवरण अनुसन्धानकर्ताले ग्र्याण्ड जुरीलाई गोप्य रुपमा उपलब्ध गराएर त्यसपछि मात्रै सार्वजनिक गर्ने सम्भावना छ।

करछलीसहितका वित्तिय अपराधमा अनुसन्धान औपचारिक रुपमा थाल्नका लागि पर्याप्त प्रमाण रहे–नरहेको निर्णयका लागि म्यानहटनका अनुसन्धानकर्ताले ग्र्याण्ड जुरी बनाएका हुन्।

ग्र्याण्ड जुरीलाई अनुसन्धानको अधिकार दिइएको र आवश्यक परेका बेला सो जुरीले सम्बन्धित व्यक्तिलाई सुनुवाईका लागि उपस्थित हुन निर्देशन जारी गर्न पनि सक्ने छ।

सर्वोच्चको फैसलाले ग्र्याण्ड जुरीसम्म पुग्नबाट आफ्नो वित्तिय विवरणलाई जोगाउन विगत केही महिनादेखि प्रयासरत ट्रम्पलाई गम्भीर धक्का लागेको छ।

सम्बन्धित समाचार