
प्रधानमन्त्री केपी ओलीले आफू पक्षको स्थायी कमिटी बैठक डाकेका छन् । विभाजित नेकपा ओली समुहका अध्यक्ष ओलीले बुधबार बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएका हुन् । पार्टी विभाजनपछि ओली पक्षीय स्थायी समितिको बैठक पहिलोपल्ट बस्न लागेको हो ।
पुस ५ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने सरकारी निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएपछि उत्पन्न राजनीतिक घटनाक्रमबारे छलफलका लागि ओलीले आफूपक्षीय स्थायी समितिको बैठक बोलाएका हुन् ।
ओली पक्षमा साविकको नेकपाका ४४ मध्ये १६ जना मात्र स्थायी समिति सदस्यहरु छन् । प्रधानमन्त्री ओली अब के गर्ने भन्ने परामर्शमा जुटेका छन् । सर्वोच्चको फैसलासँगै राजीनामाको दबाब चौतर्फीरुपमा आएपछि यसबारे पनि नेताहरुसँग ओलीले परामर्श गर्ने भएका छन् ।
