नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ फागुन ।

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले देश अब केपी ओलीको सेटिङमा नचल्ने बताएका छन्। भरतपुरमा पार्टीले आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै नेता पाण्डेले सर्वोच्च अदालतको फैसलासँगै ओली सेटिङको युग सकिएको बताए।
‘ओली सेटिङ गयो, समाप्त भयो। ओली सेटिङ चल्दैन भन्ने कुरा अदालतले प्रमाणित गरिदियो,’ पाण्डेले भने, ‘यो प्रतिगमन विरोधी आन्दोलनमा सहभागी हुने सबैलाई धन्यवाद छ। सर्वोच्च अदालत र न्यायाधीशहरूलाई अझ धेरै धन्यवाद पार्टीकोतर्फबाट।’
उनले नेपालमा अझै पनि न्याय मरेको छैन भन्ने कुरा न्यायाधीशहरूको फैसलाबाट प्रमाणित भएको बताए। अदालतको फैसलाले लोकतन्त्र र संविधानको रक्षा गरेको उनले बताए। नेता पाण्डेले अब ओलीको सेटिङ नचल्ने भन्दै सबै नेता कार्यकर्तालाई एक ठाउँमा आउन आह्वान गरे। प्रधानमन्त्रीलाई दुर्योधन र राष्ट्रपतिलाई धृतराष्ट्रसँग तुलना गर्दै पाण्डेले अब देश त्यसरी चल्न नसक्ने बताए।
भरतपुरस्थित केन्द्रीय बस टर्मिनलसँगै रहेको मैदानमा नेकपाले विरोध सभाको आयोजना गरेको भएपनि राजनीतिक परिस्थिति फेरिएसँगै विजय सभामा परिणत गरिएको थियो। सोही मैदानमा गत माघमा गरिएको सभामा प्रधानमन्त्री ओलीले चितवनबाट निर्वाचित सांसदहरूले जनताका लागि केही काम गर्न नसकेको आरोप लगाएका थिए।
प्रधानमन्त्रीलाई जवाफ दिँदै पाण्डेले प्रधानमन्त्रीबाट बिदा भएपछि ओली राम मन्दिरको पुजारी बन्नुपर्ने बताए।
‘केही दिनअघि ओलीजी यहीँ आएर भन्नुभएछ, कहाँ छौ सांसदहरू तीन-तीन जनारु म भएको भए माडीमा एउटा राम मन्दिर बनाउने थिएँ। म माडीका मेयरलाई भन्न चाहन्छु, माडीमा राममन्दिर बनाउने विषयमा चितवनबाट निर्वाचित सबै सांसदले सहयोग गर्छौं,’ उनले भने, ‘म एउटा प्रस्ताव गर्न चाहन्छु प्रधानमन्त्री तपाईंलाई रुचेन, त्यहाँ मन्दिर बनाएर मूल पुरोहित केपी ओलीलाई राखिदिऊँ। त्यसो भएपछि उहाँलाई त्यसैले चित्त बुझ्छ।’
