नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ फागुन ।
साताको पहिलो दिन आज सेयर बजारमा ७९.७४ अंकले घटेको छ । कारोबार शुरू भएदेखि नै घट्न थालेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बजार अन्तिमसम्ममा ७९.७४ अंकले घटेर बन्द भएको हो। यस क्रममा नेप्सेमा आठ अर्ब ३५ करोड रूपैयाँको कारोबार भएको छ। यस्तै एक करोड ५७ लाख कित्ता सेयर खरिद बिक्री भएको छ। बजार घटे पनि आज कारोबार रकम भने बढेको छ।
गत साताको अन्तिम दिन बिहीबार छ अर्ब रूपैयाँ बराबरको कारोबार भएकोमा आज दुई अर्ब बढेर आठ अर्ब रूपैयाँको कारोबार भएको छ। बजारमा पहिरो गएको दिन होटल र टुरिजम समूहमा ११ अंकको सुधार आएको छ। यो बाहेक अन्य सबै समूह राताम्मे बनेका छन्।
जसमध्ये सबैभन्दा बढी जीवन बीमा छ सय १५, उत्पादनमूलक एक सय ९४, निर्जीवन बीमा एक सय ७९ अंकले घटेका छन्। बजार घटे पनि आज चन्द्रगिरि हिल्सको सेयर मूल्य ९.८१ प्रतिशतले बढेर चार सय १४ रूपैयाँ प्रतिकित्ता पुगेको छ।