‘ओलीको पक्षमा उभिएर कसैले आफ्नो मृत्युपत्रमा आफैँ हस्ताक्षर गर्दैनन्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहका केन्द्रीय कमिटी सदस्य योगेश भट्टराईले सर्वोच्च अदालतका कारण संविधान मृत्यु हुनबाट जोगिएको बताएका छन्। प्रेस संगठन नेपाल प्रदेश २ को भेलालाई जनकपुरधाममा सम्बोधन गर्दै प्रेस संगठन नेपालका इन्चार्ज समेत रहेका भट्टराइले यस्तो बताएका हुन्।

उनले भने, ‘सर्वोच्च अदालतको फैसलाबाट आज संविधान मृत्यु हुनबाट जोगिएको छ, यदि संविधानको मृत्यु भएको भए हाम्रो बाटो सडक मात्रै हुन्थ्यो। सडकबाटै फेरि संविधानलाई पुनर्जागरण गर्थ्यौं। तर, संविधान बाँचेकाले हाम्रा लागि अनेक विकल्प छन्। अब विषय प्रतिनिधिसभासम्म पुगेको छ।’



सर्वोच्च अदालतका न्यायाधीशहरूले संविधान जोगाउन विवेक पुर्‍याएको जस्तै अब सांसदहरुले त्यस्तै विवेक देखाउने बेला आएको भट्टराईले बताए। भट्टराईले भने, ‘न्यायाधीशहरूले संविधान जोगाउन निकै नै विवेक पुर्‍याएका छन्। अब न्यायाधीशहरुले झै सांसदहरुले विवेक पुर्‍याउने बेला आएको छ। न्यायाधीशहरूले संविधान जोगाए झै प्रतिनिधिसभाका सदस्यहरुले संसदको इज्जतरप्रतिष्ठा जोगाउने बेला हो यो। यस काममा कसैले गल्ती गर्छन् जस्तो लाग्दैन मलाई।’

उनले संविधानमाथि गम्भीर आक्रमण गर्ने प्रधानमन्त्री ओलीको पक्षमा उभिएर प्रतिनिधिसभाका सदस्यहरुले आफ्नै मृत्यु पत्रमा हस्ताक्षर नगर्ने पनि दावी गरे। उनले भने, ‘प्रतिनिधिसभाका सदस्यहरुले आफ्नो मृत्युपत्रमा आफैँ हस्ताक्षर गर्दैनन्। यहि बेला हो संविधानमाथि गलत हस्तक्षेप गरी प्रतिगमनमा लैजाने काम गरेका र तीन करोड नेपालीको भाग्य र भविष्यमाथि खेलबाड गर्दै सन्की निर्णय गर्ने प्रधानमन्त्रीलाई तह लगाउने तसर्थ ओलीको पक्षमा उभिएर कसैले आफ्नो मृत्यु पत्रमा आफैँ हस्ताक्षर गर्दैनन् होला।’

सम्बन्धित समाचार