नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ फागुन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरसविरूद्धको खोप लगाएका छन्। सोमबार बिहान दिल्लीको एम्स अस्पतालमा खोपको पहिलो डोज लगाएको मोदीले सामाजिक सञ्जाल ट्वीटरबाट जानकारी दिएका छन्।
आफूले खोप लगाएपछि मोदी खोप लगाउन हुने सबैलाई खोप लगाउन आग्रह गरेका छन्। भारतमा आजदेखि ६० वर्षमाथिका नागरिकका लागि खोप लगाउन सुरू गरिएको छ। भारतमा अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन भइरहेको छ।
सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको खोप नेपालमा पनि ल्याइएको छ। सुरूमा भारतले १० लाख डोज खोप नेपाललाई अनुदानमा दिएको थियो भने केही दिनअघि सरकारले १० लाख डोज भ्याक्सिन किनेर ल्याएको छ भने बाँकी १० लाख डोज आउने प्रक्रियामा छ।