नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ फागुन ।

प्रधानमन्त्री केपी ओलीले आफूलाई विधिवत रूपमै संसदीय दलको नेताबाट हटाउन नेकपा प्रचण्ड-माधव नेपाल पक्षलाई चुनौती दिएका छन् । नेकपा (ओली समूह)को गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सोमवार पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यसका लागि आफूले संसदीय दलको बैठक बोलाइदिने बताए ।
‘दलको नेता फेर्नुस् न, विधिवत रूपमा फेर्नुस्, बैठक बोलाइदिन्छु, आउनुस्,’ ओलीले भने, ‘विधि छ, प्रक्रिया छ, आउनुस् । बैठकमा नआउने अनि दिए खान्थें मायाको दाहिने हातैले … ।’
उनले आफूलाई अविश्वासको प्रस्तावमार्फत हटाउन पनि चुनौती दिए । ‘अविश्वासको प्रस्ताव ल्याएर हटाउनुस् । उहाँहरूको भाषा पद्धति र प्रक्रिया अनुसारको छ । प्रधानमन्त्री हटाउने अविश्वासको प्रस्ताव राखेर होइन, गलहत्याएर ! कुन लोकतान्त्रिक अभ्यासभित्र पर्छ यो ?,’ नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ पम्फा भुसालको अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले भने ।
ओलीले आफूलाई अविश्वासको प्रस्तावबाट हटाए डेढ वर्षपछि दुईतिहाइ ल्याउने जिकिर गरे । ‘डेढ वर्षमा प्रतिपक्षमा बस्छौं । डेढ वर्ष प्रतिपक्षमा बसेपछि दुई तिहाइका साथ फर्किन्छौं फेरि…,’ ओलीले भने ।
प्रधानमन्त्री ओलीले पार्टी संसदीय दलको मुख्य सचेतकबाट देव गुरुङलाई आफ्नो अधिकार प्रयोग गरेर हटाएको बताए । साथै ओलीले प्रचण्ड-नेपाल पक्षसँग केन्द्रीय कमिटीमा बहुमत रहेको पुष्टि नभएको दाबी पनि गरे ।

