राष्ट्रपतिमा झलनाथ खनाल र रामचन्द्र पौडेलले दाबी नछोडेपछि कांग्रेस र प्रचण्ड–नेपाल समूहबीच हुन सकेन गठबन्धन

प्रतिनिधिसभा पुर्नस्थापना भएपछि प्रधानमन्त्री केपी ओलीविरुद्ध गठबन्धन कायम गरेर अगाडि बढ्नेबारे कांग्रेस र प्रचण्ड–नेपाल समूहबीच छलफल कायमै छ । सर्वोच्चले संसद् पुर्नस्थापना गरेको भोलिपल्टै प्रचण्ड र नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेरै सत्ता साझेदारीको प्रस्ताव राखेका थिए । त्यसयता कांग्रेस र प्रचण्ड–नेपाल समूहबीच ठोस सहमति गर्ने प्रयास भए पनि मूर्त रूप लिन भने सकेको छैन । फागुन २३ गतेको लागि संसद् बैठक बोलाइएकोले त्यसअगावै कांग्रेस र जसपासँग ठोस सहमति गर्न प्रचण्ड–नेपाल समूह प्रयासरत रहेको बुझिएको छ ।

स्रोतका अनुसार प्रचण्ड र देउवाबीच प्रधानमन्त्री मात्र नभएर राष्ट्रपति पनि फेर्ने विषय सहमतिनजिक पुगेको छ । नेकपा फुटेपनि संसद्मा तेस्रो दल बन्ने भएकोले कांग्रेसले सरकारको नेतृत्व लिन नहुन आवाज पार्टीभित्र उठेपछि देउवाले रामचन्द्र पौडेललाई राष्ट्रपति बनाएर प्रचण्डलाई नै प्रधानमन्त्री बनाउने सोच बनाएको बताइन्छ । पौडेललाई राष्ट्रपति बनाएपछि मंसिरको लागि तोकिएको पार्टी महाधिवेशनमा पौडेल पक्षको पनि समर्थनमा आफू सभापतिमा दोहोरिने देउवाको रणनीति रहेको छ ।



देउवालाई उनीनिकट नेताहरुले पनि नियमित निर्वाचन आउन केवल २ वर्ष मात्र बाँकी रहेकोले अर्ली निर्वाचन र प्रधानमन्त्री बन्ने चक्करमा नलाग्न र मंसिरमा महाधिवेशन गरेर पार्टी सभापतिमा कायमै रहन र नियमित निर्वाचनमार्फत बहुमतको साथ ५ वर्ष नै सरकारको नेतृत्व गर्ने तयारीमा लाग्न सुझाव दिने गरेका छन् । त्यसपछि देउवा नेकपाका दुई समूहबीचको दुरी बढाउने हिसाबले नै राष्ट्रपति पनि फेर्ने रणनीतिमा लागेका छन् ।

झलनाथ र रामचन्द्रले राष्ट्रपतिमा दाबी गरेपछि

पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्कालीन एमाले र माओवादीको स्पष्ट बहुमत आएपछि राष्ट्रपति बन्ने चाहना राखेका थिए । तर प्रधानमन्त्री केपी ओलीले कसैको कुरा नसुनी विद्या भण्डारीलाई नै राष्ट्रपतिमा दोहोर्याउने निर्णय गरेपछि खनालको चाहना अधुरै थियो । पुनः सक्रिय राजनीति गर्ने सामथ्र्य कम भएपछि उनले राजनीतिक जीवनको सुरक्षित अवतरण गर्ने माध्यम राष्ट्रपति बन्नु नै उपयुक्त हुने भन्दै उनले फेरि राष्ट्रपतिलाई महाअभियोगको चर्चा शुरु भएपछि आफूलाई नै राष्ट्रपति बनाउन प्रचण्ड र नेपाललाई दवाव दिने गरेका छन् । प्रचण्डले आफ्नो समूहले प्रधानमन्त्री बन्न नपाएको अवस्थामा खनाललाई राष्ट्रपति बनाउने वचन दिएको बताइन्छ ।

यता रामचन्द्र पौडेलको व्यथा पनि उस्तै छ । समकालीन नेताहरू प्रधानमन्त्री भइसके । आफूभन्दा जुनियरहरू राष्ट्रपति भइसके तर उनी न पार्टी सभापति बन्न सके न त सरकारको उच्च ओहादामै पुग्न सके । त्यसैले उनी पनि राष्ट्रपति बनेर राजनीतिबाट अवकास लिन चाहेका छन् । उनले पनि देउवालाई राष्ट्रपति बन्न सघाएमा सभापतिमा सघाउने प्रस्ताव गरिसकेको बताइन्छ ।

देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सघाएर भए पनि पौडेललाई राष्ट्रपति बनाउन चाहेमा पौडेलको राष्ट्रपति बन्ने सम्भावना बलियो देखिन्छ । आफैं प्रधानमन्त्री बन्ने अवस्था आएमा खनालालाई प्रचण्डले निर्वाचनपछि राष्ट्रपति बनाउने वचन दिने पक्का छ । यी विषयमा कांग्रेस र प्रचण्ड–नेपाल समूहबीच सहमति भएमा कांग्रेसकै नेतृत्वमा राजपासहित प्रचण्ड–नेपाल समूहले संयुक्त रूपमा अविश्वासको प्रस्ताव पेश गर्ने वातावरण बन्न सक्ने देखिन्छ ।

सम्बन्धित समाचार