नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ फागुन ।
स्थानीय बजारमा आज पहेंलो धातु सुनको मूल्यमा उच्च अङ्कको गिरावट देखिएको छ । अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने तोलामा नै सुन सत्र सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापवाल सुन तोलामा ८७ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार छापवाल सुन तोलामा ८८ हजार ७०० मा कारोवार भएको थियो ।
यस्तै, तेजाबी सुन तोलामा ८६ हजार ५५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार तेजाबी सुन तोलामा ८८ हजार २५० मा कारोवार भएको थियो ।
यसैगरी चाँदी आज तोलामा ४० ले घटेको छ । सोमबार रु एक हजार ३३० मा कारोवार भएको चाँदी आज भने तोलामा एक हजार २९० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।