आक्रमक बन्यो प्रचण्ड-नेपाल समूह, ओली पक्षका ७ नेता परे कारबाहीमा

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी ओली पक्षका सात जना नेतालाई कारबाही गरेको छ। बुधबार पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी समिति सदस्य सुवास नेम्वाङ, केन्द्रीय सदस्यहरु विशाल भट्टराई, महेश बस्नेत, शान्ता चौधरी, प्रभु साह, सूर्य थापा, गोकुल बाँस्कोटालाई कारबाही गर्ने निर्णय गरेको हो।

स्थायी कमिटी सदस्य तथा दलका उपनेता सुवास नेम्वाङले पार्टीको अन्तरिम विधान उल्लंघन गरेको हुनाले स्थायी कमिटीबाट निलम्बन गर्दै तीन दिनभित्र उपनेताबाट राजीनामा गर्न निर्देशन दिइएको हो। त्यस्तै, केन्द्रीय सदस्य विशाल भट्टराईलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्ने र सांसदको जिम्मामा रहन सचेत गराउने निर्णय गरेको छ।



यसबाहेक महेश बस्नेत, शान्ता चौधरी, प्रभु साह, सूर्य थापा, गोकुल बाँस्कोटालाई केन्द्रीय सदस्यबाट निष्काशित गर्ने समेत निर्णय गरेको हो। केपी ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्ने सबै दलहरुलाई संयुक्त सरकारका लागि यो बैठकले अपिल गर्ने समेत बैठकले निर्णय गरेको छ।

यसअघि सो समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गर्ने निर्णय गरेको थियो। त्यसैगरी, महासचिवबाट विष्णु पौडेललाइ पनि हटाएको थियो।

सम्बन्धित समाचार